जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने गोरखा सिरानचोक गाउँपालिका–४ घर भएका २० वर्षीय बिक्रम नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई २ जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये बिक्रमलाई पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न हाल फरार एक जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट नौं जना पक्राउ
कास्कीको पोखरा महानगरपालिका–३२ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५० ग्राम सहित धादिङ गल्छी नगरपालिका–७ बैरेनी बस्ने ५० वर्षीय रण बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख ४१५४ नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानी नजिकै सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुरेन्द्र डाँगी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको दमक नगरपालिका–२ बस्ने इलाम माङ्सेबुङ गाउँपालिका–४ माचेबुङ ठेगाना भएका २४ वर्षीय रोदन लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–६ कालिखोला सरस्वती टोल बस्ने ४१ वर्षीय रूपेश पाख्रिनलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम र नगद १२ हजार ३ सय ११ रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका सोही ठाउँ बस्ने ३२ वर्षीय डिक बहादुर मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाको बुद्धशान्ति गाँउपालिका–३ धिमाल टोल बस्ने २९ वर्षीया दुर्गा धिमाललाई अवैध लागूऔषध गाँजा ४ किलोग्राम, २ हजार ३ सय ६० भारतीय रूपैयाँ, ३ लाख ६ हजार ८ सय ७० नेपाली रूपैयाँ, तराजु १ थान र मोबाइल १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मोतिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका–९ चौवाँ बस्ने २५ वर्षीय मौसम गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका–९ निगाली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका–११ जहदी बस्ने २९ वर्षीय जलन्धर केवटलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या गरेको अभियोगमा ईश्वरपुर नगरपालिका–१२ घारिबथान बस्ने ४८ वर्षीय बीर बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
बीर बहादुरले मंसिर २८ गते राति ढुङ्गा प्रहार गर्दा बिष्णुमाया गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी बिष्णुमायाको लालबन्दीस्थित म्याक्स हस्पिटलमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
सूर्यबिनायक नगरपालिका–१० बाँसघारी नजिकै सडकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.प्र.०२–०४० प ३२२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक धनुषा घर भई काठमाडौं कीर्तिपुर बस्ने २९ वर्षीय सिदान्त साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया