वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर रौतामाई गाउँपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ५३ वर्षीय याद बहादुर बुर्जा मगर र बारा पचरौता नगरपालिका–८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय संजय साह बानिया रहेका छन् ।
पक्राउ मध्ये याद बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ७५ हजार रूपैयाँ र संजयले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले याद बहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बाट र संजयलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
सर्लाहीको पर्सा गाउँपालिका–३ बाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित ईश्वरपुर नगरपालिका–३ बस्ने २३ वर्षीय बिजय महतोलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलका चालकले मोटरसाइकलमा सवार बिजयलाई झोला सहित छोडी फरार भएपश्चात प्रहरीले झोलाबाट उक्त गाँजा फेला पारी बिजयलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका–२ बस्ने २५ वर्षीय हेमराज परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–११ ओदारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका–७ बनगाई बस्ने २१ वर्षीय सन्तोष थापा र पाल्पा तिनाउ गाउँपालिका–३ बस्ने ३० वर्षीय बिशाल कुँवर रहेका छन् । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले तौलिहवाबाट जितपुरतर्फ आउँदै गरेको लु.९७ प ११४ नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक बिशाल र मोटरसाइकलमा सवार सन्तोषलाई पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–५ लवली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय कृष बमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देहीको सैनामैना नगरपालिका–८ बाँसगदीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण थारू र २७ वर्षीय आकाश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले लु.८३ प ७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
रूपन्देहीमा आफ्नै श्रीमती २१ वर्षीया अंजली विकको हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ माझगाउँ बस्ने ३१ वर्षीय सागर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सागरले घरायसी विवादको क्रममा कुटपिट गर्दा अंजलीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी देवीनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ललितपुरको ललितपुर सातदोबाटो बस्ने सुनसरी ईटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका–९ च्यासलस्थित टाउन अफ क्याफेका कामदार डडेलधुरा घर भई ललितपुर महानगरपालिका–९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
भट्टले सोही क्याफेमा आएका नयनलाई विवादको क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि बिएण्डबि अस्पताल ग्वार्को पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि क्याफेका संचालक र क्याफेका कुकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ककनी गाउँपालिका–७ चतुराले बस्ने २९ वर्षीय सन्तराम तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सन्तरामले ती महिलालाई गत पुस ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया