निकै खोजिरहेको किताब “सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा”

काठमाडाैं । निकै खोजिरहेको किताब थियो यो । यो पटक प्रज्ञा प्रतिष्ठानमा भेटियो । गोदाममा बाकी छन् वा छैनन् थाहा भएन तर दराजमा एक वटा मात्रै थियो । करिब ७०० पेज (३५० पन्ना)को यो किताब छुट सहित ४४० पर्यो ।
ने.सं. ८२२ पौष कृष्ण त्रयोदशी (बि.सं. १७५८ पुस १८ गते बुधवार) निर्माण कार्य थालनी भई ने.सं. ८२२ आषाढ सुदी १ (बि.सं. १७५९ असार १७ गते मङ्गलवारका दिन गजूर प्रतिस्थापन गरी निर्माण सम्पन्न भएको भक्तपुरको प्रख्यात एवं उपत्यकाको सबैभन्दा अग्लो १०८ फिट उचाइको ङातापोल मन्दिर तैयार भएको थियो । ६ महिनाको अवधिमा यति भव्य मन्दिरको निर्माण सम्पन्न गर्न भक्तपुर र वरपरको ठिमी, बोडे, नगदेश, नाला, सांगा, बनेपा, धुलिखेल, पनौती, चौकोट, श्रीखण्डपुर साथै छिमेकी जिल्ला ललितपुरका टोल टोलबाट पनि आवश्यक कालिगड – सिकर्मी, डकर्मी, अवाले, नकर्मी, टमोट, बाला, गथु, एघाट इत्यादि प्रतिष्ठा गर्न ब्राह्मण पुरोहित, जोशी, आचाजू तथा हजारौं मजदुरले स्वैच्छिक वा ज्यालादारीमा काम गरेका थिए ।
यस पुस्तकमा निर्माण कार्यमा संलग्न मजदुर र कालिगडहरूको नाम तथा उनीहरूले काम गरेको दिन र बुझेको ज्याला समेत उल्लेख गरिएको छ । सो समय खरिद गरिएका सामग्रीहरूको नाम र मूल्य पनि उल्लेख गरिएको छ । यस मन्दिर निर्माणका क्रममा जग हाल्दाको विवरण, आवश्यक सामग्री, पादुका स्थापनाको विवरण, जग खन्न आवश्यक ज्याबलको विवरण, ४५ दिनसम्म चलेको सोथान बलिपूजाको विवरण तथा कालिगडहरूलाई दिइएको दक्षिणाको विवरण पनि रहेको छ ।
साथै ङातापोल निर्माण गरिएको स्थानमा पहिले ङातापुल मन्दिर रहेको बुझिन्छ । जुन सायद भूकम्पले क्षतिग्रस्त भएपछि सो भत्काइ नयाँ मन्दिर निर्माण गरिएको थियो । यो पुस्तकमा ङातापुल मन्दिर भत्काउँदाको विवरण पनि राखिएको छ ।
तर यस पुस्तकमा ङातापोल मन्दिर निर्माणका लागि त्यस वरपर बस्ने स्थानीय बासिन्दाहरूलाई विस्थापित गराइ पलिख्यमा राखिएको बारेमा भने कुनै उल्लेख गरिएको छैन । भक्तपुरमा २७ टोल रहेको र त्यहाँ ३८७७ जना रहेको बुझिन्छ । भक्तपुर राज्य तर वरपर रहेकन धुलिखेल, पनौती लगायतमा ६६०९ जना रहेको बुझिन्छ । पहाडी बस्तीमा गैर नेवाःहरु ६९८ जना देखिन्छ । कान्तिपुर राज्यसँग त्यति बेला सायद वैरभाव रहेर होला, कुनै पनि मजदुर, सामग्री खरिद र अतिथि बोलाइएको देखिँदैन ।
काड, दाउरा, ढुङ्गा, इँटा, चून, अनाज, गेडागुडी, फलफूल, तरकारी लगायत स्थानीय रूपमा नै आपूर्ति गरिएको छ भने सुन, चाँदी, तामा, पितल, काँस भने खरिद गरेको देखिन्छ ।
मन्दिर निर्माण सम्पन्न भइसके पछि भएको भव्य भोजमा १५५०१ भक्तपुर राज्यका र २८४४ पाहुनाहरूलाई अतिथि सत्कार, राजकीय भोज र दक्षिणा भेटी समेत दिइएको थियो ।
प्रतिक्रिया