अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ पिस, नोर्फिन १६ पिस र फेनारगन १६ पिस सहित सोही नगरपालिका–३ इचंगु नारायण बस्ने बारा घर भएका ३१ वर्षीय विद्या सागर लामालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–२ बदनाम गल्लीबाट नियन्त्रित लागूऔषध स्पास्मो ३६ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ वनखेत बस्ने २१ वर्षीय अमित शाकी र २५ वर्षीय बिरेन्द्र साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ हजार २ सय पिस, डाइजेपाम १ हजार २ सय पिस र फेनारगन १ हजार २ सय पिस सहित रौतहट कटहरिया नगरपालिका–७ बस्ने १८ वर्षीया किशोरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५१५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१५ मिलन चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन १ सय २३ ट्याब्लेट र ट्रामाडोल १ सय १७ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सन्जिप गिरी र २३ वर्षीय रोजेस श्रेष्ठ रहेका छन् । अस्थाई प्रहरी पोष्ट श्यामचोकबाट खटिएको प्रहरीले को.२६ प ८३७२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–९ गैरी गाउँ बस्ने २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९० मिलिग्राम, मोबाईल ५ थान र नगद ५० हजार १ सय ५० रूपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
पाल्पाको बगनासकाली गाउँपालिका–५ राम्दिबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४६ पिस, प्रोमोथाईजिन ४६ पिस, नोर्फिन ४६ पिस सहित कास्की पोखरा घर बताउने २८ वर्षीय गणेश श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख नारायण नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–३० रूद्रमार्ग बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती किशोरीलाई घुम्न जाने भनी ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा चार जनाको मृत्यु
सर्लाहीको ईश्वरपुर नगरपालिका–७ बयलबास बबरगंजस्थित सडकमा बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल र ना.३९ प ७१६८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा ना.३९ प ७१६८ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१० बस्ने ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिद्धिबिनायक अस्पताल बयलबास हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल चालकको सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भइरहेको छ ।
ललितपुरको गोदावरी नगरपालिका–१० टाखेलस्थित सडकमा ना.१ क ५९१३ नम्बरको जेसिवीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० मुलडोल बस्ने ५६ वर्षीय मंगल तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । जेसिवी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सल्यानको कुमाख गाउँपालिका–३ मिलन चोकस्थित सडकमा रागेचौरदेखि चौरजहारीतर्फ जाँदै गरेको रा.१ त २८५९ नम्बरको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–३ बस्ने २२ वर्षीय दिपक बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दैलेखको महाबु गाउँपालिका–२ डुङ्ररीस्थित सडकमा खरीगैराबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०२६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–२ डुङ्री बस्ने ७८ वर्षीया भद्रकला गुरूङको मृत्यु भएको छ । गाडीले शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल दैलेख हुँदै भारतको लखनउमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ललितपुरको गोदावरीमा ईनारमा डुबेर एक व्यक्तिको मृत्यु
गोदावरी नगरपालिका–१३ झरूवाराशी बस्ने सुर्खेत गुरूवा कोट नगरपालिका–२ घर भएका सन्तोष डाँगीकी छोरी ६ वर्षीया आरती डाँगीको सोही ठाउँस्थित ईनारमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।
डुबेर अशक्त भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–४ असिने बस्ने खड्ग बहादुर बस्नेतको भान्सा घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा भाँडावर्तन, काठपात लगायतका सामान जलेर करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
अर्घाखाँचीको सितगंगा नगरपालिका–१४ बौरी बस्ने टेक बहादुर बिकको घरमा गए राति आगलागी हुँदा चौपाया, अन्नपात, लत्ताकपडा जलेर करिब ३ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्ने २२ वर्षीया पुनम दासको पसलमा गए राति आगलागी हुँदा पसल भित्र रहेको सामानहरु पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया