वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१६ घर भएका ३० वर्षीय जय प्रकाश चौरसिया, भक्तपुर सूर्यविनायक नगरपालिका–५ घर भएका २७ वर्षीय आकाश दुलाल, गोरखा गण्डकी गाउँपालिका–२ घर भई चितवन भरतपुर महानगरपालिका–१० बस्ने ४३ वर्षीय कुल बहादुर थापा र काठमाडौं नागार्जुन बस्ने ३१ वर्षीय राजन आले रहेका छन् ।
पक्राउ मध्ये जय प्रकाशले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, आकाशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दुबै जनालाई बुधबार पक्राउ गरेको हो । साथै कुल बहादुर र राजनले अमेरिका पठाइदिन्छु भन्दै पीडितहरूबाट ५९ लाख २५ हजार रूपैयाँ ठगी फरार रहेकोमा सोही कार्यालयबाट खटिएको प्रहरीले दुबै जनालाई काठमाडौं सिनामंगलबाट मंगलबार पक्राउ गरेको हो ।
जय प्रकाश र आकाशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ भने कुल बहादु र राजनलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ गाम्र ४ सय २० मिलिग्राम सहित कृष्णपुर नगरपालिका–५ गुलरीया बस्ने २७ वर्षीय गणेश बहादुर खड्का र ३३ वर्षीय चेतराज भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–०१० प १३२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश बुढालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१८ कारकाँदोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित जुम्ला चन्दननाथ नगरपालिका–९ बस्ने २२ वर्षीय केशव गिरी र बाँके जानकी गाउँपालिका–५ बस्ने ४० वर्षीय मुराद खाँ लाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–११ भोजाडचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र स्टेगन १ सय ट्याब्लेट सहित भरतपुर महानगरपालिका–७ बस्ने २० वर्षीय बिपिन परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट भोजाडबाट खटिएको प्रहरीले पदमपुरबाट बिशालचोकतर्फ आउँदै गरेको ना.१ ज ६७५४ नम्बरको म्याजिकमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा कालिका नगरपालिका–२ पदमपुर बस्ने २८ वर्षीय सागर भण्डारीलाई नियन्त्रणमा लिई भण्डारीले सोही ठाउँ बस्ने उनको मामा ५३ वर्षीय भुपाल पौडेलको घरमा लुकाई छिपाई राखेको ट्रामाडोल २१ हजार ३ सय ६० ट्याब्लेट, स्टेगन २१ हजार २ सय ६० ट्याब्लेट र नगद २१ हजार ५ सय ३० रूपैयाँ फेला पारी भण्डारी र भुपाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ७० मिलिग्राम सहित मोरङ पथरीशनिश्चरे नगरपालिका–९ बस्ने ३१ वर्षीय जित बहादुर चौहान र सोही नगरपालिका–४ बस्ने २४ वर्षीय सुजित राईलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीटंकीबाट काँकरभिट्टातर्फ सिटीरिक्सामा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० नारायणी मल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–५ भैराङ बस्ने ३० वर्षीया अंजली गोले र हेटौंडा उपमहानगरपालिका–३ बसामाडी बस्ने ५१ वर्षीया ज्ञानुमायाँ गोले रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ३४ वर्षीय प्रल्हाद खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०७९ चैत १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ९ लाख १९ हजार ५ सय रूपैयाँ जरिवाना र ४८ हजार रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कपुरधाराबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
सवारी दुर्घटनामा चार जनाको मृत्यु
भोजपुरको षडानन्द गाउँपालिका–१२ याङपाङस्थित सडकमा को.२ त ८७२० नम्बरको ट्याक्टरबाट लडेर अरूण गाउँपालिका–१ मेहेनपुर बस्ने ४८ वर्षीया धन कुमारी राईको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको मायादेवी गाउँपालिका–५ गोनाहास्थित सडकमा लु.३ च २२०९ नम्बरको पिकअपको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय नरभदेश्वर दुवेको मृत्यु भएको छ । बुधबार बिहान पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित सडकमा मधेश प्र.०२–००६ प १५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–९ पिपराडी टोल बस्ने ३५ वर्षीय सिकिन्द्र यादव र मोटरसाइकलमा सवार ३२ वर्षीय नन्दलाल यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सकिन्द्रको प्रादेशिक अस्पतालमा र नन्दलालको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया