शनिबार, वैशाख ६, २०८२

कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

नेपालखोज २०८१ पुष १८ गते १६:४४

धनकुटा । कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

कोशी प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा उच्च रक्तचापका बिरामीको सङ्ख्या एक लाख ४४ हजार १३९ रहेकामा गत आव २०८०/८१ मा डेढ लाखभन्दा बढी वृद्धि भई दुई लाख ९७ हजार ५७ पुगेको स्वास्थ्य कार्यालयले स्पष्ट गरेको छ । यसैगरी नसर्ने रोगअन्तर्गत दोस्रो स्थानमा रहको मधुमेह (चिनी रोग) देखिएका बिरामीको सङ्ख्या गत आवमा एक लाख ८६ हजार ३८७ रहेकामा चालु आर्थिक वर्षको पाँच महिनामा १५ हजार ३३९ रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा धुवाँ-धुलो र धूमपानबाट हुने दीर्घकालीन प्रकृतिको स्वाशप्रस्वास (सिओपिडी) रोगसँग सम्बन्धित बिरामी देखिएको कार्यालयले जनाएको छ । दम रोगसँग मिल्दोजुल्दो यस किसिमको रोगबाट ५५ हजार ९५९ जना प्रभावित भएको सो कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी चालु आर्थिक वर्षको पाँच महिनामा कोशी प्रदेशमा चार हजार ७७८ जना स्वाशप्रस्वासका बिरामी देखिएका छन् । त्यस्तै चौँथोमा रहेको मानसिक रोगसँग सम्बन्धित बिरामीको सङ्ख्या ३३ हजार ३३१ र पाँचौंमा दमका बिरामी ३१ हजार ७४९ जना रहेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा एक हजार ३१७ जना मानसिक रोगबाट पीडित रहेको पनि प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ ।

समग्रमा कोशी प्रदेशमा ६ लाख ४९ हजार ३८२ जना उच्च रक्तचाप, मधुमेह, दमजस्ता नसर्ने प्रकृतिका रोगबाट प्रभावित रहेको सो कार्यालयले स्पष्ट गरेको छ । कार्यालयका निर्देशक डा सुरेश मेहताका अनुसार उच्च रक्तचापको समस्याबाट ३५ वर्षभन्दा माथिका उमेर समूहका मानिस बढी प्रभावित भएका छन् ।

झापा जिल्लामा मात्र आव २०८०/८१ मा ९९ हजार १७३ जना रक्तचापको समस्याबाट पीडित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मोरङमा ५२ हजार ४५०, इलाममा ३८ हजार ७२२, सुनसरीमा ३५ हजार ७८० र उदयपुरमा ११ हजार ३३४ जना रक्तचापसँग सम्बन्धित बिरामी रहेका छन् ।

डा मेहताका अनुसार आफ्नो घरमा तयार हुने रेशादार एवं हरियो सागसब्जीसहितको प्राङ्गारिक खानाभन्दा होटल तथा बजारका खानामा जोड दिँदा, दैनिक आहारविहार र व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा तथा मध्यपान, धूमपान र मादकपदार्थ सेवनमा व्यक्तिको लत बस्दा उच्च रक्तचापका बिरामीको सङ्ख्या वृद्धि भएको हो ।

प्रतिक्रिया