सोमबार, वैशाख ८, २०८२

एनआईसी एसिया बैंकद्वारा चितवनको वीरेन्द्र आदर्श माविमा पुस्तकालय भवन निर्माण

नेपालखोज २०८१ पुष २४ गते १६:३८

काठमाडौं, । एन आई सी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरेको छ । यसै क्रममा बागमती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका-७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ ।

विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा पुस्तकालय भवन निर्माण गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन यही पुस १९ गते उद्घाटन गरिएको थियो ।  उक्त पुस्तकालय समुद्घाटन समारोहमा सोही नगरपालिका- ७ का वडाअध्यक्ष सुमिता डल्ला कोटी, एनआईसी एसिया बैंक बागमती प्रदेश (१, २, ४ र ५) का प्रमुख दिलीप डाँगी र बागमती प्रदेश, २ का उपप्रमुख रामकृष्ण काफ्ले तथा सम्बन्धित विद्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। पुस्तकालय सञ्चालनमा आएसँगै विद्यालयका झन्डै एक हजार ५० विद्यार्थी तथा शिक्षक/शिक्षिका उक्त पुस्तकालयबाट प्रत्यक्षता लाभान्वित हुनेछन् । 

यसअघि बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका-४ पछिया अवस्थित श्री पब्लिक सेकेन्डरत स्कुल, मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका-१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका-३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको समुद्घाटन भई सम्बन्धित विद्यालयलाई हस्तान्तरण भइसकेका छन् । 

त्यसै गरी, मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगन्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।

बैंकले उल्लेखित पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल दुई करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । उक्त पुस्तकालय भवन निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो योगदान पुग्ने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया