बिहीबार, वैशाख ११, २०८२

छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन मलाला पाकिस्तान आउने

नेपालखोज २०८१ पुष २६ गते १४:०५

इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मथलो पाकिस्तानमा आयोजना हुने छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन इस्लामावाद आउने भएका छन् । युसुफजईलाई सन् २०१२ मा पाकिस्तानी तालिवानले गोली हानी हत्या गर्ने प्रयास गरेपछि विदेशमा जीवन विताउँदै आएका छन् ।

आक्रमणपछि पनि उनले पाकिस्तानी किशोरीहरूको शैक्षिक तथा अन्य अधिकारका लागि आवाज बुलन्द गर्दै आउनुभएको छ तर पाकिस्तानको विरलै मात्र भ्रमण गर्ने गरेका छन् । ‘म विश्वभरका मुस्लिम नेताहरूसँग छात्रा शिक्षासम्बन्धी महत्वपूर्ण सम्मेलनमा सामेल हुन पाउँदा उत्साहित छु,’ उनले शुक्रबार एक्समा एक पोस्टमा लेख्नुभएको छ । ‘आइतबार म सबै बालिकालाई विद्यालय जान पाउने अधिकारको रक्षा गर्ने र तालिबानलाई अफगान महिला र बालिकाविरुद्ध गरेको अपराधका लागि किन जवाफदेही बनाउनुपर्छ भन्ने विषयमा सम्बोधन गर्नेछु,’ उनले पोस्टमा लेखेका छन् ।

मलाला फन्ड च्यारिटीका प्रवक्ताले उनी व्यक्तिगत रूपमा शिखर सम्मेलनमा सहभागी हुने पुष्टि गरेका छन्। मुस्लिम समुदायमा बालिका शिक्षामा केन्द्रित रहेर शनिबार र आइतबार राजधानी इस्लामावादमा दुई दिने शिखर सम्मेलन हुनेछ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले उद्घाटन गर्ने समारोहमा ४४ देशका मन्त्री तथा राजदूतका साथै संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्कका प्रतिनिधिसहभागी हुनेछन् ।

यस शिखर सम्मेलनले मुस्लिम समुदायको शिक्षाको माध्यमबाट बालिकाहरूको सशक्तीकरणको साझा प्रतिबद्धतालाई पुष्टि गर्नेछ। सन् २०१२ मा अफगानिस्तानसँग सीमा जोडिएको स्वात उपत्यकामा पाकिस्तानी तालिवान लडाकूले विद्यालयको बसमा आक्रमण गरेपछि दिएको प्रतिक्रियापछि युसुफजाई चर्चामा आएका थिए ।

अफगान तालिबान र नेटो सेनाबीच सीमापार युद्ध चर्किरहेको समय पाकिस्तानी तालिवानको नेतृत्वमा यस क्षेत्रमा बर्बर आतङ्क फैलिएको थियो । हत्या प्रयासपछि उनलाई संयुक्त अधिराज्य (बेलायत)मा लगियो र बालिका शिक्षाको लागि विश्वव्यापीरूपमा आवाज उठाएका कारण १७ वर्षको उमेरमा सबैभन्दा कम उमेरको नोबेल शान्ति पुरस्कार विजेता बनेका थिए ।

प्रतिक्रिया