बिहीबार, वैशाख ११, २०८२

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नेपालखोज २०८१ पुष २७ गते २०:३१

कानो, नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा २१ जना सरकारी लडाकू मारिएका छन् ।

कात्सिना प्रहरीप्रवक्ता अबुबकर सादिक अलियुका अनुसार सफाना जिल्लाको बौरे गाउँमा एक मृत सहकर्मीको परिवारप्रति समवेदना व्यक्त गरी फर्कंदै गरेको सरकारलाई सहयोग गर्दै आएका लडाकूको एक टोलीमाथि डाकुहरूले गोली चलाएका थिए ।

‘दुःखको कुरा, आक्रमणका कारण २१ जनाको मृत्यु भएको छ’, अलियुले भने, ‘प्रहरीले आक्रमणका दोषीलाई पक्राउ गर्न प्रयास गरिरहेको छ ।’ उत्तरपश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक कात्सिना राज्यमा डाकुहरूले गाउँहरूमा आक्रमण गर्ने, बासिन्दाहरूको हत्या गर्ने र अपहरण गर्ने साथै घरहरू जलाउने र लुट्ने गर्दै आएका छन् ।

जाम्फारा, कात्सिना, काडुना र नाइजर राज्यको विशाल जङ्गलमा लुकीछिपी बस्दै आएको गिरोहले हालैका वर्षहरूमा विद्यालयबाट विद्यार्थीहरूको सामूहिक अपहरणका लागि कुख्याति कमाएका छन् ।

सन् २०२३ मा कात्सिना राज्यका गभर्नर डिक्को उमर रड्डाले ‘कात्सिना कम्युनिटी वाच कोर (केसीडब्ल्युसी)’ को स्थापना गरी सरकारलाई सघाउन करिब दुई हजार लडाकूलाई भर्ती गर्नुभएको थियो । रासस/एएफपी

प्रतिक्रिया