सोमबार, वैशाख ८, २०८२

पुलिसले जित्यो जय ट्रफीको उपाधि

नेपालखोज २०८१ माघ ३ गते १८:०५

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जतेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९.२ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो ।

आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११/११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका सागर ढकालले छ तथा ललित राजवंशीले चार विकेट लिए ।

दोस्रो इनिङमा पुलिस १३९ रनमा अलआउट भएपछि आर्मीले १०३ रनको लक्ष्य पाएको थियो । ९ विकेटको क्षतिमा १३२ रनबाट पुलिसले तेस्रो दिनको खेल सुरु गरेको थियो । थप सात रन जोड्दा अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले १०२ रनको अग्रता बनायो । अन्तिम विकेटका रुपमा बसिर अहमदले ललितलाई आउट गरे । सागर ढकाल छ रनमा नटआउट रहे ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले ४५, दिलीप नाथ ३४, राशिद खान १८, ओपनर अमित श्रेष्ठले १३ रन बनाएका थिए । त्यसबाहेक पुलिसका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

आर्मीका बसिर र साहब आलमले समान ५/५ विकेट लिए । पहिलो इनिङमा पुलिसले ९ विकेटको क्षतिमा १३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो भने आर्मीले १७० रन बनाएको थियो । आर्मीका लागि पहिलो इनिङमा भीम सार्कीले सर्वाधिक ५८ रन जोडेका थिए । उनले ५५ बलमा छ चौका र तीन छक्का प्रहार गरेका थिए । बसिरले ४०, सोमपालले ३२ तथा कप्तान विनोदले १४ रन बनाए ।

पुलिसका लागि सागरले पहिलो इनिङमा पनि पाँच विकेट लिएका थिए । कुशल भुर्तेलले तीन तथा ललित र गुलशन झाले समान एक विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो इनिङमा ९ विकेट गुमाएर १३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ५१ रन बनाएका थिए । अर्जुन साउदले २८, अमितले २० र राशिदले १० रन बनाएका छन् ।

आर्मीका साहब आलमले सात, सोमपाल र बसिर अहमदले समान एक विकेट लिएका थिए ।

प्रतिक्रिया