सिन्धुलीमा माइक्रो बस दुर्घटना, १ जनाको मृत्यु, १२ घाइते

काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस बिहीबार साँझ सुनकोशी गाउँपालिका- ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे ।
बिहीबार साँझ साढे पाँच बजे गाडी गुडिरहेको बेला टायर पञ्चर हुँदा माइक्रो बस डिभाइडरमा ठोकिएर सडकबाट तल खसेकाे प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ६ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ । अरु ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।
दुर्घटनापछि माइक्रो चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया