सोमबार, वैशाख ८, २०८२

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

नेपालखोज २०८१ माघ ९ गते १४:११

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट बृन्दावन नगरपालिका–६ घर भई काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने ३६ वर्षीय विजय साह, धनुषा धनुषाधाम नगरपालिका–४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीया नेहा अधिकारी र धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२ बस्ने ४७ वर्षीया विवाह घले रहेका छन् ।

पक्राउ मध्ये विजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, नेहाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख ५० हजार रूपैयाँ र विवाहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विजयलाई काठमाडौं महानगरपालिका–२६ र नेहालाई ललितपुर महानगरपालिका–१७ बाट सोमबार तथा विवाहलाई ललितपुर महानगरपालिका–१ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित चार जना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्राम सहित कैलाश गाउँपालिका– ४ कालिकाटार बस्ने २२ वर्षीय छेटुप थिङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले राक्सिराङ चैनपुरबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ च ००६२ नम्बरको बोलेरो गाडी तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक थिङलाई पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–७ मनेहरा बस्ने २४ वर्षीय सन्दिप चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने ५० वर्षीया कमला रावतलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७ सय ग्राम र तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–१३ अठारकठ्ठे बस्ने २५ वर्षीया लुबी कामाईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चोरीमा संलग्न चार जना पक्राउ

काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका–३ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–९ ढुङ्गिनी बस्ने ३८ वर्षीय तिर्थ बहादुर थापा मगर, दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौं गोठाटार बस्ने ४३ वर्षीय सुवास मगर, सिन्धुली मरिण गाउँपालिका–२ घर भई ललितपुर इमाडोल बस्ने ३८ वर्षीया सुनिता तामाङ र खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ मोती चोक बस्ने ४७ वर्षीय बलराम विश्वकर्मा रहेका छन् ।

पदमा कुमारीको कोठाबाट गत पुस १६ गते सुनका विभिन्न गरगहना र नगद गरी करिब १६ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट स्वरूप परिवर्तन गरिएको सुन १ तोला ७७ लाल, स्कुटर १ थान, नगद ३० हजार रूपैयाँ र मोबाइल ४ थान बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

अवैध रूपमा संकलन गरी लैजान लागेको करिब १९ ग्राम ९ सय ८० मिलिग्राम सुन जस्तो देखिने धातुको सिक्री १ थान, ल्यापटप १ थान र मोबाइल २ थान सहित रामेछाप सुनापाती गाउँपालिका–३ घर भएका २६ वर्षीय आदित्य योञ्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुको सिक्री, ल्यापटप र मोबाइल सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

भरूवा बन्दुक सहित एक जना पक्राउ

मनहरी गाउँपालिका–९ हरियाली सामुदायिक जंगलबाट भरूवा बन्दुक १ थान, खकुरी १ थान, गोली जस्तो देखिने फलामको वस्तु ३३ थान, बल बेरिङ १३ थान, छर्रा २४ थान र बारूद ३ सय ५ ग्राम सहित राक्सिराङ गाउँपालिका–१ गडुवान बस्ने ५२ वर्षीय जित बहादुर थिङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित पक्राउ

कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका–१ मडाहा बस्ने ४२ वर्षीय गणेश प्रसाद यादव र रूपन्देही तिलोत्तमा नगरपालिका–१२ बस्ने २८ वर्षीय श्री बहादुर छन्त्याल रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एडि ०१३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गणेशलाई ४ लाख रूपैयाँ र पैदलयात्री श्री बहादुरलाई २ लाख रूपैयाँ सहित पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अर्घाखाँची पाणिनी गाउँपालिका–३ बस्ने २८ वर्षीय बिर बहादुर कुमाललाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली पेस्तोल देखाई ठगी गर्ने व्यक्ति पक्राउ

नक्कली पेस्तोल देखाई ठगी गरेको अभियोगमा भारत मोतिहारी ग्राम पञ्चायत खरोही–४ बस्ने २० वर्षीय अब्दुल कलामलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

ईशनाथ नगरपालिका–४ मठियास्थित सीमाक्षेत्रमा हिड्डुल गर्ने व्यक्तिहरूलाई अब्दुलले नक्कली पेस्तोल देखाई डर त्रास देखाई पैसा माग्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया