सोमबार, वैशाख ८, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८१ माघ ९ गते १५:१६

मकवानपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका–३ घट्टेडाँडा बस्ने ५५ वर्षीय आइते सिंह बम्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बम्जनले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नागरिकता सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ

नागरिकता सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–१४ घर भई काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने ४९ वर्षीय शिव बहादुर बिष्टलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत चितवनबाट नागरिकता सम्बन्धी कसुरमा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं दरबारमार्गबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।

अवैध लागूऔषध गाँजा बरामद

देवानगंज गाउँपालिका–५ पालटोलबाट अवैध लागूऔषध गाँजा करिब २८ किलोग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय साहेबगंज र सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ पैदल जाँदै गरेका अपरिचित व्यक्तिले बोरा फाली फरार भएपश्‍चात बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

गुल्मीको धुर्कोट गाउँपालिका–५ रोहीस्थित सडकमा लु.१ ख ५७३६ नम्बरको बसबाट खसेर बसमा सवार ईश्मा गाउँपालिका–५ रातामाटा बस्ने ३९ वर्षीया शान्ती कुमालको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको गुल्मी अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पाको रून्टिगढी गाउँपालिका–६ कानकुटे डाँडास्थित सडकमा रा.१ ख २३५६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–७ बलवाङ बस्ने ७५ वर्षीया मनबुझा बिकको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया