आइतबार, वैशाख ७, २०८२

नेशनल लाइफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न

नेपालखोज २०८१ माघ १३ गते १७:०१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको ‘लिडर्स नाइट वीथ भूषण दाहाल’ कार्यक्रम चितवन सौराहा स्थित होटेल सेभेन स्टारमा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८१ श्रावण महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई गैँडाकोट स्थित मौला कालिका मन्दिरको दर्शन तथा दियालो बङ्गला सङ्ग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित वरिष्ठ पत्रकार भूषण दाहालसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुख सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब २२५ जना वरिष्ठ अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए ।

साथै, कार्यक्रमका प्रमुख अतिथि दाहालले सहभागी अभिकर्तालाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होइन हजारौँ प्रश्नको जवाफ दिने आँट र साहस बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गरे । 

समारोहमा योजनामा छनौट भई सहभागी भएका अभिकर्तालाई प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार दाहालले सम्मान पत्र प्रदान गरेका थिए । सहभागी अभिकर्ताले नेपालकै चर्चित एवं वरिष्ठ पत्रकार दाहालबाट सम्मान प्राप्त गर्ने अवसर दिलाएकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए । 
  

प्रतिक्रिया