सोमबार, वैशाख ८, २०८२

क्यानडा र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

नेपालखोज २०८१ माघ १४ गते १६:२०

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा, पर्सागढी नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३९ वर्षीया शारदा कार्की र गुल्मी सत्यवती गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–८ बस्ने ३० वर्षीय रविन श्रेष्ठ रहेका छन् ।

पक्राउमध्ये शारदाले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ८५ हजार ५ सय रूपैयाँ र रविनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई काठमाडौं टेकुबाट आइतबार र रविनलाई काठमाडौं कालोपुलबाट शुक्रबार पक्राउ गरेको हो ।

शारदालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रविनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

दाङको तुल्सीपुर उपमहानगरपालिका–५ ज्योतीनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम र नगद ४२ हजार ७ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २१ वर्षीय पूर्ण बहादुर बाँठा मगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने २७ वर्षीय प्रबिन सुनारसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रबिनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय २० मिलिग्राम र नगद १ लाख २४ हजार ३ सय ९५ रूपैयाँ सहित पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय मनिष चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बाराकुण्डाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय जनक भण्डारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको हल्दिबारी गाउँपालिका–१ गोलधापबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सोनु कर्मकार र दमक नगरपालिका–८ वस्ने २३ वर्षीय सक्षम भट्टराई रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले प्रदेश १–०१–०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

व्यास नगरपालिका–३ देउरालीनगरस्थित ऋषिङ्ग गाउँपालिका–२ काँहुशिवपुर घर भएका ३६ वर्षीय श्रीराम थापाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ७ सय ३५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया