अमेरिकामा ६ जना सवार विमान दुर्घटना

काठमाडाैं । अमेरिकामा फेरि विमान दुर्घटना भएको छ । पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनामा परेको हो ।
शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रुजवेल्ट मलनजिकै एक प्राइभेट विमान दुर्घटना भएको जनाइएको छ ।
अमेरिकाको उड्डयन विभागका अनुसार फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिङफिल्ड (ब्रान्सन विमानस्थल) जाँदै गरेको विमानमा ६ जना सवार थिए । विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एकजना थिए ।
विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिसहरु पनि घाइते भएका बीबीसीले जनाएकाे छ । साँझको भीडको समयमा आपतकालीन सेवाका टोली दुर्घटनास्थल पुगेका थिए ।
यद्यपि, विमान दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन । बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएस न्यूजका अनुसार रुजवेल्ट मलबाट केही दूरीमा यो विमान दुर्घटना भएको हो । यो पेन्सिलभेनिया सहरको घना आबादी भएको क्षेत्रमा अवस्थित तीन तले किनमेल केन्द्र हो ।
प्रतिक्रिया