सोमबार, वैशाख ८, २०८२

युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८१ माघ २१ गते १४:५७

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की अन्नपूर्ण गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

मदनले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरा चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ३ किलो ४४ ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका–२ बैकुण्ठ बस्ने ४५ वर्षीय भीमलाल मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका–४ बालुबाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४५ मिलिग्राम र नगद १ लाख ६ हजार ३ सय रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कन्काई नगरपालिका–५ बस्ने ३५ वर्षीय चिरञ्जीवी भुजेल र ३८ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ सय २ ग्राम सहित सोही ठाउँ बस्ने ५० वर्षीय हरि सिंह ठगुन्नालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ बर्दहवा बस्ने २२ वर्षीय राकेश चौधरी र बर्दिया मधुबन नगरपालिका–४ बस्ने २३ वर्षीया जीया चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम र नगद १८ हजार ३ सय २५ रूपैयाँ सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ सालको बुटा बस्ने १९ वर्षीया संगिता चौधरी, सोही नगरपालिका–२ बस्ने २४ वर्षीय श्री कृष्ण थारू र सोही नगरपालिका–११ लोकनगर बस्ने २८ वर्षीय किरन थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले संगिताको घरबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा घर भएका २६ वर्षीय दिपक लिम्बु र सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने २८ वर्षीय रोहित लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.८५ प ४६१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बजारस्थित महाकाली होटल एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ बस्ने २३ वर्षीय रमेश चौधरी, बेदकोट नगरपालिका–८ बस्ने २५ वर्षीय बिशाल चौधरी र भीमदत्त नगरपालिका–१९ बस्ने १८ वर्षीया २ जना किशोरीहरू रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–७ पचासा चोकबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ २६ ग्राम ३ सय २० मिलिग्राम सहित गुलरिया नगरपालिका–७ बस्ने ३५ वर्षीय पञ्चराम ढोलीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया