पहिलो प्रेमपत्र

प्रेमील युगलहरूका लागि आजबाट प्रेमील सप्ताह Valentine’s Week को सुरुवात भएको छ । हुन त हामी विदेशीको देखासिकी सबै कुरा सहजै स्वीकार गर्दै जान्छौ । यसर्थ पनि अहिलेका युवायुवतीमा प्रेमील सप्ताह तथा प्रेम दिवसको महत्त्व बढ्दै गएको पाउँछौ । साथै यसलाई व्यवसायीकरण गर्नेहरूले पनि यसलाई अझ बढी प्राथमिकताका साथ प्रचारप्रसार गरेको पाउँछौ । हामी कहाँ १५–२० वर्ष अगाडि सम्म प्रेम दिवसको खासै महत्त्व थिएन । नेपालमा प्रेमील सप्ताह व्यापक हुन थालेको त झन् धेरै भएकै छैन । तर हामी कहाँ पनि आफ्नै मौलिक प्रेमील महिना र प्रेम दिवस पनि छन् । जसलाई खासै चासो दिएको पाउँदैनौ ।
नेवाःहरुले विशेष रूपले मनाउने यःमरी पुन्हीको भोलिपल्टको दिनलाई प्रेम दिवस “मतिना पारु“का रूपमा लिने गरिन्थ्यो । यो दिन पहिलो पटक dating जाने गरिन्थ्यो । खुल्लमखुल्ला भेटघाट गर्न नपाउने त्यो समय देयगः (मन्दिर), ल्हो हिटी(ढुङ्गे धारा), नःहिटी (कलधारा) वा तुं (इनार) तिर जाने बहानामा भेटघाट हुने गर्दथ्यो ।
नेवाः पात्रो अनुरूप नवौँ महिना भर लाग्ने गुँला पर्वमा खास गरी बौद्ध धर्मावलम्वीहरु साउन शुक्ल प्रतिपदा देखि भाद्र शुक्ल पक्ष प्रतिपदा सम्म बौद्ध तिर्थस्थलहरु परिक्रमा गर्ने परम्परा रहेको छ । खास गरी चार तिर्थ नमोबद्ध, बज्रयोगिनी, स्वयम्भू र रातो मच्छिन्द्रनाथ दर्शन गर्ने गरिन्छ । यसरी महिनाको चार सप्ताह चार तिर्थ जाने हुँदा यस महिनालाई पेम्ह देगः म्हसिक वनेगू अथवा बहीद्यः स्वःवनेगु पनि भनिन्छ । यसरी विभिन्न बहीद्यः दर्शन गर्ने बहानामा एक अर्कालाई मन पराउने र पछि विवाह हुने गर्दथ्यो । तर अचेल जहिले जुनसुकै बेला पनि भेटघाट र घुमघाम गर्न सकिने हुँदा यो समय भने जोडी खोज्ने भन्दा जोडी भइसकेकाहरू नै घुम्ने गर्दछन् ।
भ्यालेन्टाइन डे
ईसाको तेश्रो शताव्दीमा रोमनका राजा क्लाडियसले रोम राज्यका सैनिक तथा कर्मचारीलाई बिबाह गर्न बञ्चित गराएका थिए । विवाहले पुरुषमा भएको आत्मबिश्वास र शक्ति क्षिण हुन्छ भन्ने जिकिर रोमन राजाको थियो । तर सेंट बैलेन्टाईनले यसको बिरोध गर्दै विवाह गर्न प्रेरित गराए । जसको फलस्वरुप क्रुद्ध भएका राजाले सेंट भेलेन्टाईनलाई नै जेल सजायँ दिए ।
फलस्वरुप पाँचौ शताव्दीमा पोप गेलासियसले १४ फेब्रुवरीलाई सेन्ट भेलेन्टाईन डे घोषणा गरे । तर प्रेमी प्रेमिकाको लागी थिएन । सन १४१५ मा पहिलो पटक कैदमा बसिरहेका चार्ल्स, ड्युक अफ ओर्लियन्स, ले पहिलो पटक आफ्नो पत्नीलाई प्रेमपत्र पठाए, जसमा उनले लेखेका थिए, तिम्रो भेलेन्टाईन । यस पछि भेलेन्टाईन शब्द नै प्रेमीको पर्याय बन्यो ।
अचेल त यो सप्ताहब्यापी उत्सव भएको छ । ७ तारीखबाट शुरु हुने उत्सवमा पहिलो दिन आफ्नो मन परेको प्रेमी वा प्रेमिकालाई गुलावको फूल दिदै आफ्नो अन्तर्भावना मौन रुपमा ब्यक्त गरिन्छ । दोश्रो दिन ब्यक्त गर्दै प्रपोज गरिन्छ, तेश्रो दिन शुरुवात मिठो होस भन्दै चकलेट दिईन्छ, चौथो दिन खुला हृदयले एक अर्कोलाई चाहेको भावना स्वरुप भालुको बच्चा खेलौना (टेड्डी बियर) दिने गरिन्छ । पाचौ दिन सदैव एक अर्काको हुने बाचा गरिन्छ, छैठौ दिन अंगालोमा बाधेर प्रेम सत्य रहेको भाव जनाईन्छ । सातौ दिन चुम्वन गर्दै सपना साकार भएको स्विकारोक्ती गरिन्छ । आठौ अर्थात अन्तिम दिन वास्तविक भेलेन्टाईन भएको स्विकार्दै प्रेमको दिवश मनाईन्छ ।
साथमा राखिएको सन् १४१५ मा पठाईएको पहिलो प्रेमपत्र हो । ६०० बर्ष पुरानो प्रेमपत्र यसरी सुरक्षित राखिएको छ । आजका प्रेमिल जोडीको प्रेम पनि यसरी नै अमर रहुन ।
प्रतिक्रिया