सोमबार, वैशाख ८, २०८२

धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

नेपालखोज २०८१ माघ २८ गते १५:१४

काठमाडौं । धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने कार्यमा संलग्न रहेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका ५२ वर्षीय नरेन्द्र राज राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक लगायत डिजिटल प्लेटफर्मबाट धार्मिक सहिष्णुता माथि आघात पुर्याउने तथा घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने सामाग्री तयार गरी प्रसारण गर्ने कार्यमा संलग्न नरेन्द्रलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको समन्वयमा धरानबाट पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अनलाइन जुवा खेलाउने २३ जना पक्राउ

अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहार राज्य बाका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित घरमा अनलाइन जुवा खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार रूपैयाँ, विभिन्न कम्पनीका मोबाइल ८८ थान र ल्यापटप १० थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खप्तडछान्ना गाउँपालिका–७ गडराय बस्ने ३४ वर्षीय बिरेन्द्र रोकायालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिरन्द्रले ती बालिकालाई गत असोज ३० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

ललितपुरको बाग्मती गाउँपालिका–४ गिम्दी दोर्जेलिङ डाँडास्थित सडकमा बा.६८ प २२०८ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार काभ्रे बेथानचोक गाउँपालिका–१ सुकुम घर भएकी ३८ वर्षीया मेनुका गौतमको आइतबार दिउँसो मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ खैरिघाटस्थित सडकमा सु.प.प्र.०१–००१ ख ३६१० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मिन बहादुर कुँवरको छोरा २ वर्षीय सुशान्त कुँवरको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–२ सप्तरीस्थित सडकमा सुर्खेतबाट छिन्चुतर्फ आउँदै गरेको क.प्र.०२००२ प ७२०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक बीरेन्द्रनगर नगरपालिका–११ चारकुने बस्ने ४१ वर्षीय दिप बहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहहेको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित सडकमा म.प्र.०३–००१ ज ०५५४ नम्बरको विङगरको ठक्करबाट साइकलयात्री बर्दिबास नगरपालिका–७ बस्ने ७० वर्षीय देबेन्द्र साह सोनारको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको घनुषा लालगढस्थित मोडेल अस्पताल हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । विङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१४ स्थित सडकमा बा.प्र ०२–०४२ प ३६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोरखा, गोरखा नगरपालिका–१२ पन्ध्रकिलो बस्ने ३० वर्षीय रबिन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१४ भावना चोकस्थित सडकमा बा.प्र.०१–०२९ च ७५९७ नम्बरको कार र बा.प्र.०६–००१ प ५०४८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–१४ बस्ने २१ वर्षीय रोशन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकालई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–८ डुम्रीकोटस्थित सडकमा ग.१ ख ९४७२ नम्बरको ट्रकमा लु.६९ प ८०६७ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बिरूवा गाउँपालिका–७ घर भई वालिङ नगरपालिका–९ क्यापस रोड बस्ने १६ वर्षीय सुशिल गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेखको भगवतीमाई गाउँपालिका–१ मौले तालस्थित सडकमा मनघरबाट दैलेखतर्फ आउँदै गरेको क.प्र.०२–००२ प २८७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक डुङ्गेश्वर गाउँपालिका लाकुरी बस्ने ४० वर्षीय तेज बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो ।

पाँचथरको याङबरक गाउँपालिका–२ ईण्द्रेणी ओडार छेउस्थित सडकमा तिनतिम्बुबाट च्याङथापुतर्फ आउँदै गरेको मे.१ त ६८९४ नम्बरको ट्याक्टर अन्यन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका–१ तिम्बुरेखर्क बस्ने २७ वर्षीय दिनेश चौहानको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया