एक करोड लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । सानाठूला गरी एकसाथ पाँचवटा सवारी चार्ज गर्न मिल्नेगरी स्टेशन सञ्चालनमा ल्याइएको हो ।
नेपाल विद्युत् प्राधिकरणको सहयोगमा एक करोड लगानी गरी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको स्थानीय विष्णु अधिकारीले बताए । उनका अनुसार, राजमार्गसँगै जोडिएकोे मेरो पाँच कट्ठा जमिन थियो, आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने लागेर उक्त जमिनमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएँ । राजमार्ग विस्तारको काम चाँडो सम्पन्न भएमा चार्जिङ स्टेशनको क्षमता बढाउँदै चालकका लागि ‘रिफ्रेस सेन्टर’ समेत सञ्चालन गर्ने योजना छ ।
नारायणघाट–बुटवल सडकको एक सय १४ किलोमिटर खण्डमा निर्माण गरिएको एकमात्र फास्ट चार्जिङ स्टेशनमा चौबीसै घण्टा विद्युतीय गाडी चार्ज गर्न मिल्ने सुविधा रहेको उनले बताए । अहिले दैनिक ५० वटासम्म सवारी चार्ज भइरहेका छन्, विस्तारका क्रममा रहेको यस सडकको काममा ढिलाइ हुँदा समस्या भएको छ उनले भने । बाटो विस्तारपछि थप १० वटा ‘नोजल’ थप गर्ने तयारीमा रहेको उनले बताउ ।
विद्युतीय गाडी चार्ज गर्ने बेलासम्म यात्रुलाई असुविधा नहोस् भनी आफूले चमेनागृह सञ्चालनमा ल्याएको अधिकारीले बताए । यहाँ सवारी मर्मत गर्ने ग्यारेज पनि थप गर्ने योजना छ, उनले भने । लोकाहामा सञ्चालनमा आएको यस चार्जिङ स्टेशनबाट जिल्लाका विद्युतीय गाडी प्रयोगकर्तासँगै पूर्वपश्चिम राजमार्ग भएर सञ्चालन हुने सवारीलाई निर्धक्क भएर यात्रा गर्ने वातावरण सृजना भएको उनको भनाइ छ ।
पछिल्लो समय विद्युतीय सवारीको चाप बढ्दो रहेको र सरकारको विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने अवधारणाअनुरूप विद्युतीय सवारी फास्ट चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको अधिकारीले बताए । गाडीको ब्याट्री क्षमताअनुसार चार्जिङको समय लाग्ने र सोहीअनुसारको शुल्क लिने गरिएको उनको भनाइ छ । सवारी चार्ज गर्न लाग्ने समय फरक–फरक हुने उनले बताए ।
कुनै पनि गाडी शून्य चार्जमा यहाँ आउँदैनन्, १०-१५ प्रतिशत चार्ज बाँकी नै हुन्छ, इभी चार्ज गर्ने पनि मोबाइल चार्ज गरेजस्तै हो, उनले भने, बढीमा एक घण्टाभित्र विद्युतीय गाडी सय प्रतिशत चार्ज हुन्छ । चार्जिङ स्टेशनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान गरिएको उनले बताए । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका अधिकारीको भनाइ छ ।
प्रतिक्रिया