ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा भेट्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गरेका छन् ।
ह्वाइट हाउसमा ट्रम्पको फिर्तीपछिको पहिलो पुष्टि गरिएको सम्पर्कमा अमेरिकी राष्ट्रपतिले युक्रेनमा सन् २०२२ को रक्तपातपूर्ण आक्रमणको आदेश दिने रुसी समकक्षीसँग ‘लामो र अत्यन्त फलदायी’ कुराकानी गरेको बताए ।
तर ट्रम्पले किएभको नाटोमा सामेल हुने चाहना ‘व्यावहारिक’ नभएको बताउनुभएपछि यो कदमले युक्रेनलाई आफ्नै भविष्यको वार्तामा बाहिर राखिने चिन्ता जगाएको छ । किएभलाई नाटोमा संलग्न गराउन नहुने मस्कोको प्रमुख माग हो । लगभग तीन वर्षको युद्धको छिटो अन्त्यका लागि दबाब दिइरहेका ट्रम्पले दुई आणविक–सशस्त्र महाशक्तिबीचको प्रत्यक्ष वार्ताबाट युक्रेनलाई बाहिर राखिएको कुरा अस्वीकार गरे ।
– शान्तिको चाहना –
यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा फोन वार्ताको घोषणा गर्दै र द्वन्द्वमा अपुष्ट सङ्ख्या प्रयोग गर्दै आफू र पुटिन ‘दुवैले रुसरयुक्रेन युद्धमा भइरहेको लाखौँको मृत्यु रोक्न चाहेको’ मा सहमत भएको बताएर विश्वलाई आश्चर्यमा पारे ।
अमेरिकी राष्ट्रपतिले उनीहरू ‘एक–अर्काको राष्ट्रको भ्रमण सहित धेरै नजिकबाट काम गर्न’ र ‘आ–आफ्ना टोलीहरूलाई युक्रेनबारे तत्काल वार्ता सुरु गर्न’ सहमत भएको बताए । ट्रम्पले पछि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गरे । जेलेन्स्की पुटिनसँगको फोन वार्तामा सामेल हुनुहुन्थेन ।
जेलेन्स्कीले पछि उनको ट्रम्पसँग ‘अर्थपूर्ण’ कुराकानी भएको बताए । फोन वार्तामा ट्रम्पले पुटिनसँगको वार्ताको ‘विवरणहरू साझा गरेको’ उनले बताए । कुराकानी पछि ट्रम्पले भने, जेलेन्स्की राष्ट्रपति पुटिन जस्तै, शान्ति चाहनुहुन्छ ।
किएभको राष्ट्रपति कार्यालयका प्रमुख आन्द्री येर्माकले टेलिभिजनमा दिएको टिप्पणीमा जेलेन्स्की र ट्रम्प सम्झौता तय गर्न प्रयास गर्ने प्रत्येक पक्षका उच्च–स्तरीय टोलीहरूको काम ‘तत्काल’ सुरु गर्न सहमत भएको बताए ।
यसैबीच येर्माकले युक्रेनको ‘स्वतन्त्रता, क्षेत्रीय अखण्डता र सार्वभौमिकता’ मा सम्झौता गर्न नसकिने किएभको अडान दोहोर्याए । युक्रेनी नेताले रुससँगको कुनै पनि सम्झौताको हिस्साका रूपमा वासिङ्टनबाट कडा सुरक्षा ग्यारेन्टीको माग गरिरहेका छन् । यसैबीच ट्रम्पले सैन्य सहायता जारी राख्नका लागि किएभको दुर्लभ पृथ्वी खनिजको सट्टामा सम्झौताको सुझाव दिएका छन् ।
– मूल कारण –
जेलेन्स्कीले बुधबार किएभमा अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टसँग भेट गरेपछि शुक्रबार म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई भेट्नेछन् ।
ट्रम्पसँगको फोन वार्ताबारे क्रेमलिनको वक्तव्य अधिक संयमित थियो । शान्ति वार्ताको माध्यमबाट दीर्घकालीन समाधानमा पुग्न सकिन्छ भन्ने कुरामा पुटिन ट्रम्पसँग सहमत भएको तर उनले द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्न चाहेको बताएको क्रेमलिनको वक्तव्यमा उल्लेख छ । मूल कारणका लागि रुसले किएभमा पश्चिमी प्रभावलाई दोष दिएको छ ।
यसै हप्ता एक कैदी आदान–प्रदान सम्झौतामा सम्बन्ध सुधारका सङ्केतहरू देखिएका थिए । यसमा मस्कोले अमेरिकी शिक्षक मार्क फोगेल र बेलारुसले एक अमेरिकी नागरिकलाई रिहा गरे भने वासिङ्टनले रुसी क्रिप्टोकरेन्सी किङपिन अलेक्जान्डर भिन्निकलाई रिहा गर्यो ।
ट्रम्पले यसअघि पनि पुटिनका लागि प्रशंसा व्यक्त गरिसकेका छन् र आफ्नो ट्रुथ सोसल पोस्टमा रुसी राष्ट्रपतिको प्रशंसा गरेका छन् । उनले ‘पुटिनले मेरो धेरै बलियो अभियानको आदर्श वाक्य, ‘सामान्य सेन्स’ पनि प्रयोग गरे भन्दै फोगेलको रिहाइका लागि उनलाई धन्यवाद दिए ।
तथापि सम्भावित सम्झौताको स्वरूपबारे किएभ र युरोपेली राजधानीहरूमा चिन्ता बढ्दै गएको छ । फ्रान्स, जर्मनी र स्पेनका विदेशमन्त्रीहरूले बुधबार किएभ र यसका युरोपेली साझेदारहरूको संलग्नता बिना ‘कुनै न्यायोचित र दीर्घकालीन शान्ति’ हुन नसक्नेमा जोड दिए ।
प्रतिक्रिया