युक्रेनमा शान्ति ‘बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टी’ सँगै आउनुपर्छ-म्याक्रोन

काठमाडाैं । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले मंगलबार युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेपछि युक्रेनमा शान्ति ‘बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टीसँगै हुनुपर्छ’ भनेका छन् ।
‘हामी युक्रेनमा बलियो र स्थायी शान्ति चाहन्छौँ । यो हासिल गर्न रुसले आफ्नो आक्रमण अन्त्य गर्नुपर्दछ र यो युक्रेनीहरूका लागि बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टीहरूसँगै हुनुपर्दछ,’ म्याक्रोनले सामाजिक मिडिया प्लेटफर्म एक्समा भने, ‘अन्यथा यो युद्धविराम मिन्स्क सम्झौता जस्तै समाप्त हुने जोखिम छ ।’ उनले सन् २०१४ र २०१५ मा पूर्वी युक्रेनमा द्वन्द्व अन्त्य गर्न खोज्ने सम्झौताको सन्दर्भमा भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा सुरु गरेको नाटकीय अमेरिकी नीति परिवर्तनको प्रतिक्रियामा छलफल गर्न म्याक्रोनले युरोपेली नेतासँग पेरिसमा आपत्कालीन बैठक आयोजना गरेपछि जेलेन्स्कीसँग फोनवार्ता भएको हो ।
युरोपेली नेतालाई के डर छ भने ट्रम्प रूससँग शान्ति सम्झौता गर्न चाहन्छन्, जुन वार्तामा युरोपेली सङ्घ (इयु) को त कुरै छाडौँ किएभ पनि समावेश हुनेछैन ।
जेलेन्स्कीले आफ्नो सामाजिक मिडिया पोस्टमा म्याक्रोनले उहाँलाई युरोपेली नेतासँगको वार्ताबारे जानकारी गराएका उल्लेख गर्दै शान्ति कसरी प्राप्त गर्ने भन्नेबारे उनीहरूको ‘साझा दृष्टिकोण’ रहेको बताए ।
‘हामी एउटै दृष्टिकोण साझा गर्छौं स् सुरक्षा ग्यारेन्टी मजबुत र विश्वसनीय हुनुपर्छ,’ उनले एक्समा भने, ‘यस्तो ग्यारेन्टीबिनाको कुनै पनि अन्य निर्णय-जस्तै नाजुक युद्धविराम-रुसले गरेको अर्को छल र युक्रेन वा अन्य युरोपेली राष्ट्रविरुद्धको नयाँ रूसी युद्धको प्रस्तावनाको रूपमा मात्र काम गर्नेछ ।’
प्रतिक्रिया