बिहीबार, वैशाख ११, २०८२

निर्वाचन क्षेत्रको विकासमा समय दिने अध्यक्ष दाहालको प्रतिबद्धता

नेपालखोज २०८१ फागुन ८ गते १६:४७

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि समय दिने प्रतिबद्धता जनाएका छन् ।

गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आज गोरखा नगरपालिका-१४ गोप्लिङस्थित सहिद परिवारसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रमा चाहे जति समय दिन नसकेकाले अब बाँकी समय निर्वाचन क्षेत्रको विकास निर्माणलाई दिने प्रतिबद्धता जनाए ।

अध्यक्ष दाहालले सहिदको बलिदानका कारण नै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको बताए । परिवर्तनका लागि ज्यानको बलिदान दिने सहिदहरु देशको साझा सम्पत्ति भएको उनले उल्लेख गरे ।

अध्यक्ष दाहालले १० वर्षे सशस्त्र सङ्घर्षका क्रममा एकै घरबाट तीन जनाले ज्यान गुमाएका गोरखा नगरपालिका-१४ गोप्लिङस्थित सहिद गुप्तबहादुर नहर्की, सरस्वती नहर्की र कल्पना नहर्कीको परिवारसँग भेट गरे । आजै उनले पालुङ्टार–८, स्थित जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद वीरेन ओलियाको परिवारसँग पनि भेटघाट गरी सहिद परिवारको अवस्थाको बारेमा जानकारी लिए ।

अध्यक्ष दाहाल गोरखा नगरपालिका–१०, स्थित मिरकोटमा सुरु हुन लागेको मिरकोटगढी महोत्सवको उद्घाटन गर्न आज गोरखा पुगेका हुन्।

प्रतिक्रिया