मंगलबार, वैशाख ९, २०८२

अमेरिकासँगको तनावबीच दक्षिण अफ्रिकामा जी-२० विदेशमन्त्रीको बैठक सुरु हुँदै

नेपालखोज २०८१ फागुन ८ गते १८:३३

काठमाडौं । जी-२० देशका विदेशमन्त्रीको बैठक बिहीबार जोहानेसबर्गमा सुरु हुनेछ तर दक्षिण अफ्रिका र अमेरिकाबीचको कूटनीतिक तनावकाबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियो उपस्थित हुने छैन् ।

रूसी विदेशमन्त्री सेर्गेई लाभरोभ र चिनियाँ विदेशमन्त्री वाङ यी लगायत कूटनीतिज्ञ यस भेलामा उपस्थित हुने अपेक्षा गरिएको छ भने अमेरिकाको प्रतिनिधित्व दक्षिण अफ्रिकाका लागि कार्यवाहक राजदूत डाना ब्राउनले गर्ने छन् ।

जी-२० को हिस्सा रहेका युरोपेली सङ्घ (इयु), संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घ सहभागी हुनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गर्नुभएको एक कार्यकारी आदेशपछि रुबियोले बैठकमा जान अस्वीकार गर्नुभएको हो । उक्त आदेशले देशको श्वेत अल्पसङ्ख्यक विरुद्ध भेदभाव हुने गरी कानून बनाएको भन्दै दक्षिण अफ्रिकालाई विदेशी सहायता रोक्ने निर्णय गरेको थियो । अमेरिका अन्तर्राष्ट्रिय न्यायालयमा इजरायल विरुद्ध दक्षिण अफ्रिकाको मुद्दासँग पनि असन्तुष्ट छ ।

दक्षिण अफ्रिकाका विदेशमन्त्री रोनाल्ड लामोलाले रुबियोको निर्णय ‘दक्षिण अफ्रिकाको जी-२० को पूर्ण बहिष्कार नभएको’ बताए । उनले अमेरिकालाई यस हप्ता जोहानेसबर्गमा ‘कुनै न कुनै रूप वा आकारमा’ प्रतिनिधित्व गरिने बताए ।

अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले पनि उहाँ अर्को हप्ता दक्षिण अफ्रिकामा हुने जी-२० वित्तमन्त्रीको बैठकमा उपस्थित नहुने स्पष्ट गरेका छन् ।

बेसेन्टले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा वासिङ्टनमा दायित्वका कारण उनले कार्यक्रममा भाग लिन नसक्ने बताउनुभएको छ । उनको स्थानमा वित्त मन्त्रालयका एक वरिष्ठ अधिकारी उपस्थित हुनेछन् ।

विश्लेषकका अनुसार रुबियो र बेसेन्टको अनुपस्थितिले अमेरिका जी-२० बाट पछि हट्दै गरेको सङ्केत गर्छ र सम्बन्ध कति तनावपूर्ण छन् भन्ने देखाउँछ ।

‘मलाई लाग्छ यदि हामी वास्तवमै अमेरिकी प्रशासनले के सन्देश दिन खोजिरहेको छ भन्ने जान्न चाहन्छौँ भने तपाईँले वित्तमन्त्री अर्को हप्ता आउनुहुनेछ वा छैन भनेर जान्नुपर्छ, यदि उनले पनि आउन छनोट गर्नुभएन भने, यो एक गम्भीर सङ्केत हो,’ राजनीतिक विश्लेषक डेनियल ब्राडलोले भने ।

राष्ट्रपति सिरिल रामाफोसाले ‘एकता, समानता र दिगोपना’ विषयवस्तु अन्तर्गत आधिकारिक रूपमा उद्घाटन गरी सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यसलाई रुबियोले विविधता, समानता र समावेशी ढाँचा भनेका छन् -जसको नयाँ ट्रम्प प्रशासनले स्पष्ट रूपमा विरोध गर्दछ ।

दक्षिण अफ्रिकाले गत वर्ष डिसेम्बरमा शुरु भएको जी-२० अध्यक्षताको हिस्साका रूपमा यस वर्ष १३० भन्दा बढी कार्यदल बैठक र २३ मन्त्रीस्तरीय बैठक आयोजना गर्नेछ ।

दक्षिण अफ्रिकाको कार्यकालपछि अमेरिकाले सन् २०२६ मा जी-२० को अध्यक्षता ग्रहण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया