मंगलबार, वैशाख ९, २०८२

एपी ‘कट्टर वामपन्थी सङ्गठन’ भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप

नेपालखोज २०८१ फागुन ९ गते १५:३७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसोसिएटेड प्रेस (एपी)लाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिएका छन् । मेक्सिकोको खाडीका नामबाट विश्वमा परिचित जल क्षेत्रलाई पुनः नामकरण गर्न प्रयोग गरेको विषयलाई अमेरिकी सञ्चारमाध्यम (एपी)ले ट्रम्पले भनेजस्तो गरी उल्लेख नगरेपछि राष्ट्रपति ट्रम्पले एपीविरूद्ध उक्त आरोप लगाएका हुन् ।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो महिनामा उक्त क्षेत्रलाई ‘गल्फ अफ अमेरिका’ को संज्ञा दिएका थिए । अमेरिकी समाचार एजेन्सी एपीले उनको आदेश पालना नगरेसम्म एसोसिएटेड प्रेस (एपी) का पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।

ह्वाइट हाउसले एपीका पत्रकारहरूलाई एयर फोर्स वान र ओभल अफिसमा प्रवेश रोकेको छ। बिहीबार राजधानी वासिङ्टनमा रिपब्लिकन गभर्नर्स एसोसिएशनलाई सम्बोधन गर्दै ट्रम्पले भने, हाम्रो एउटा समाचार संस्थासँग लडाइँ छ, जुन एक ‘कट्टर वामपन्थी सङ्गठन’ हो ।

उसले मेक्सिकोको खाडीका रूपमा चिनिँदै आएको क्षेत्रलाई अमेरिकाको खाडी भनौँ भनी हामीले गरेको प्रस्ताव अस्वीकार गरेको छ र गर्छ । यसले हामी सबैलाई नराम्रो व्यवहार गर्छ । उनले सम्भावित कानूनी कारबाहीको बारेमा उनको दावी के हो भन्ने उल्लेख नगरीकन अगाडि भने, हामी अहिले कुनै पनि पत्रकार सम्मेलनबाट उनीहरूलाई बाहिर निकालिरहेका छौँँ ।

मलाई विश्वास छ कि उनीहरूले मुद्दा हाल्नेछन्, र शायद उनीहरूले जित्नेछन् । फरक पर्दैन । यो केवल यस्तो कुरा हो जसको बारेमा हामी दृढतापूर्वक महसुस गर्दछौं । लामो समयदेखि अमेरिकी पत्रकारिताको खम्बाको रूपमा रहेको १८० वर्ष पुरानो यो सञ्चारमाध्यमले अमेरिका र विश्वभरका छापा, टिभी र रेडियो प्रकाशन तथा प्रशारणहरूका लागि समाचार प्रदान गर्दछ ।

गत महिना एपीले एक ‘स्टाइल नोट’मा ‘मेक्सिकोको खाडीले ४०० वर्षभन्दा बढी समयदेखि यो नाम बोकेको’ उल्लेख गरेको थियो । यसको प्रतिक्रियामा आएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा ‘संयुक्त राज्य अमेरिकाभित्र मात्र यो अधिकार बोकेको’ उल्लेख गरिएको थियो ।

प्रतिक्रिया