सामाजिक सञ्जाल विधेयक फिर्ता लिन पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूको आग्रह

काठमाडौं । राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूले आग्रह गरेका छन् ।
मानवअधिकार तथा शान्ति समाजद्वारा मौलिक हक अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आयोेजित नागरिक संवाद कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूले विधेयक तत्काल फिर्ता लिनुपर्नेमा जोड दिएका हुन् ।
महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयक तत्काल फिर्ता लिनुपर्ने बताए । विधेयक पारित गर्दा सांसद र समितिको भूमिका के–कस्तो हुन्छ भन्ने प्रष्ट नहुने गरेकाले पनि सही कानुन बन्न नसकेको उनको भनाइ थियो ।
महासङ्घका अर्का पूर्वअध्यक्ष किशोर नेपालले यस्तो विधेयकले कसैको हित नगर्ने भएकाले सामाजिक सञ्जाल विधेयक छिटो फिर्ता लिन माग गरे ।
महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले नियन्त्रित लोकतन्त्रका लागि यो विधेयक आएकाले संविधानको भावनाअनुसार लोकतान्त्रिक मूल्य, मान्यताको सुदृढीकरणका लागि विधेयक फिर्ता लिनुपर्ने बताए ।
सामाजिक सञ्जाल विधेयक सरोकार भएका निकाय र नागरिकबीच बहस नगरी लुकाएर ल्याएकाले समस्या आएको उनको भनाइ थियो ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले माघ अन्तिम साता बसेको पत्रकार महासङ्घको बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रने निर्णय गरेकाले छिटो फिर्ता लिन ध्यानाकर्षण गराए ।
प्रतिक्रिया