मंगलबार, वैशाख ९, २०८२

उत्तराखण्ड : हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी

नेपालखोज २०८१ फागुन १७ गते १५:११

काठमाडौं । उत्तरी भारतको सीमा क्षेत्रमा हिमपहिरोमा फसेका ४७ जनाको खोजी टोलीले उद्धार गरे पनि अझै आठ जनाको खोजी भइरहेको अधिकारीले शनिबार बताएका छन् ।

शुक्रबार चीनको तिब्बतसँग सीमा जोडिएको भारतको उत्तराखण्डको चमोली जिल्लाको एक गाउँ नजिकै निर्माण शिविरमा हिमपहिरो खस्दा ५५ जना कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताएका छन् ।

‘हिउँमा फसेका सबै कामदारलाई जतिसक्दो चाँडो सुरक्षित रुपमा बाहिर निकाल्ने हरसम्भव प्रयास भइरहेको छ,’ धामीले भने ।

स्थानीय प्रहरीले शनिबार एक विज्ञप्ति जारी गर्दै भग्नावशेषबाट ४७ जनालाई निकालिएको र बाँकी आठ जनाको खोजी जारी रहेको जनाएको छ ।

घटनास्थलमा रहेका सेनाका चिकित्सकले गम्भीर घाइतेको जीवनरक्षक शल्यक्रिया गरेको बताइएको छ । तिब्बतसँग सीमा जोडिएको माना गाउँका बासिन्दा अत्यधिक मौसमबाट बच्नका लागि कम उचाईमा बसाइँ सरेपछि सुनसान भएको ‘द इन्डियन एक्सप्रेस’ ले जनाएको छ ।

हिमालको माथिल्लो भेगमा विशेषगरी जाडो याममा हिमपहिरो र पहिरो खस्नु सामान्य कुरा हो ।

सन् २०२१ मा उत्तराखण्डमा हिमनदीको ठूलो भाग नदीमा खस्दा करिब १०० जनाको मृत्यु भएको थियो । सन् २०१३ को विनाशकारी मनसुनी बाढी र पहिरोका कारण छ हजार मानिसको मृत्यु भएको थियो र राज्यमा विकास परियोजनाको पुनरावलोकनको माग गरिएको थियो ।

प्रतिक्रिया