बिहीबार, वैशाख ११, २०८२

‘शिक्षक र अभिभावको संयुक्त प्रयासले मात्रै असल नागरिक उत्पादन हुन्छ’

नेपालखोज २०८१ फागुन १७ गते २१:०८

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले शिक्षक र अभिभावको संयुक्त प्रयासले मात्र मुलुकमा असल नागरिक उत्पादन हुने धारणा राखेकी छन् ।

आज यहाँ आयोजित साइरियस अङ्ग्रेजी माध्यमिक विद्यालयको ३०औँ वार्षिकोत्सव कार्यक्रममा उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि समय समयमा शिक्षकलाई तालिम र भ्रमणको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

‘मसँग विश्वविद्यालय कारागार जस्तै रहेको अनुभव छ । अधिकांश समय कारागार र समुदायमा बिताएकाले मेरा कारागार नै विश्वविद्यालय हो’, उपसभामुख रानाले भनिन् ।

अझै पनि तराईका कतिपय विद्यालयमा अध्ययन अध्यापन गर्नेरगराउने वातावरण नभएको गुनासोहरू आइरहेको भन्दै उनले त्यसतर्फ सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय आवश्यक पर्ने बताउँदै उपसभामुख रानाले विद्यालयले आधारभूत विषयमा ध्यान दिन नसक्दा समस्या उत्पन्न भएका उल्लेख गरिन् ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई तालिमका साथै प्रोत्साहन गर्ने किसिमका योजनाहरू कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

अभिभावलाई लक्षित गर्दै उपसभामुख रानाले हरेकको पहिलो विद्यालय परिवार रहेकाले जस्तोसुकै परिस्थितिमा पनि आफ्ना बालबालिकालाई भरपुर समय दिन आग्रह गरिन् ।

अभिभावले आफ्ना बालबालिकालाई छात्राबासमा राख्न नहुने सुझाव दिँदै उहाँले हरेक बालबालिकासँग कुनै न कुनै प्रतिभा हुने भएकाले उक्त प्रतिभालाई चिनेर अगाडि बढ्न प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

विद्यालयका प्रधानाध्यापक दामोदर भुसालले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय परिवारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा लामो समयमा सेवा गरेका शिक्षक रञ्जना वस्ती, मधुमती श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । साथै विभिन्न कार्यक्रममा सहभागी उत्कृष्ट बालबालिकालाई पुरस्कार वितरण गरिएको थियो । रासस

प्रतिक्रिया