बिहीबार, वैशाख ११, २०८२

स्थानीय तहमै आगलागी नियन्त्रण समिति गठनको माग

नेपालखोज २०८१ फागुन १८ गते १५:०७

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्नसक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘यसपटक पानी कम परेको छ, आगलागीका घटना बढ्नसक्छन, सरकारले स्थानीय तहमै आगलागी नियन्त्रण समिति अहिले नै गठन गर्नुपर्छ, स्थानीयलाई नै जिम्मेवार बनाउनुपर्छ, उनीहरुलाई उचित तालिमको साथै तराईमा एक घण्टा र पहाडमा २० मिनेटमा पुग्ने गरी वारुणयन्त्रको व्यवस्था गर्नुपर्छ ।’

आगलागी नियन्त्रणका लागि सामुदायिक वन समितिको सक्रियतामा प्रहरी र नेपाली सेनालाई समेत तयारीका साथ राख्नुपर्ने उनको भनाइ छ ।

सांसद मिश्रले पछिल्लो पटक काठमाडौंस्थित बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर स्थानीयलाई समस्या भएको घटना उल्लेख गर्दै सो घटनालाई समेत मध्यनजर राखेर सहरमा सडक, खानेपानी, ढल र विद्युत् आदिको व्यवस्थापनको निम्ति समन्वय समिति बनाउनुपर्ने माग गरे ।

सांसद भुवनबहादुर सुनारले खन/जोत गर्दै आएका किसानलाई जग्गाको धनी बनाएर लालपूर्जा दिनुपर्ने माग गरे । सांसद मदनकुमारी शाहले भारतको उडिसा राज्यको केआइआइटीमा अध्ययनरत नेपाली छात्राको मृत्यु पश्चात नेपाल फर्किएका विद्यार्थीको अवस्थाबारे सरकारले संसदलाई जनाकारी गराउनुपर्ने माग गरिन् ।

प्रतिक्रिया