शनिबार, वैशाख ६, २०८२

‘झ्याइँ’ को सफलतामा उत्साहित मञ्जयाश्री, अर्को नेपाली-बलिउड फ्युजन गीत ल्याउने

नेपालखोज २०८१ फागुन १८ गते १७:०१
Screenshot

काठमाडौं । नेपाली र हिन्दी सङ्गीतको फ्युजन गीत ‘झ्याइँ’ले ऐतिहासिक सफलता प्राप्त गरेपछि एटमून इन्टरटेनमेन्ट अब गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्टलाई लिएर अर्को ठुलो नेपाली तथा बलिउडको संयुक्त प्रोजेक्टको तयारीमा जुटेको छ ।

‘झ्याइँ’ को अपार सफलताले नेपाली मौलिक सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने मार्ग प्रशस्त गर्यो र यही उत्साहबीच मञ्जयाश्री अब एक चर्चित बलिउड सेलिब्रेटीका साथ नयाँ साङ्गीतिक प्रोजेक्टमा देखिन लागेकी छिन् । नयाँ गीत पनि नेपाली र बलिउडको संयुक्त प्रस्तुतिमा हुने गायिका भट्टले बताएकी छन् ।

गत वर्ष अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरमा सार्वजनिक गरिएको सो गीतमा नेपाली र हिन्दी सङ्गीतको अनौठो संयोजन प्रस्तुत गर्दै नेपाली लोकगीत ‘झ्याइँ पा¥यो मलाई रत्यौलीको झिल्केले झ्याइँ पार्यो’को प्रमुख अंशलाई समेटिएको छ । अमेरिकामा जन्मे-हुर्केकी मञ्जयाश्री र चर्चित बलिउड गायक देव नेगीको आवाजमा रहेको ’झ्याइँ’ले नेपाली र भारतीय सङ्गीतप्रेमीलाई साझा साङ्गीतिक यात्रामा पुर्याएको थियो ।

यस गीतले मञ्जयाश्रीलाई भारत र नेपालमा चिनाउन मद्दत गरेको छ । यस गीतले युट्युबमा ८ करोड ४५ लाखभन्दा बढी भ्युज पार गरिसकेको छ भने संसारभर ट्रेन्डिङ भएको थियो ।

भट्टका अनुसार आगामी प्रोजेक्ट नेपाली र बलिउड सङ्गीतको फ्युजनलाई अझ नयाँ उचाइमा पुर्याउने उद्देश्यले निर्माण गरिँदै छ ।

‘झ्याइँ’ म्युजिक भिडियोको निर्देशन बलिउडका अनुभवी छायाकार तथा निर्देशक विनोद प्रधानले गरेका हुन्, जसले ‘देवदास’ र ‘रङ्ग दे बसन्ती’ जस्ता सुपर हिट बलिउड चलचित्रहरू छायाङ्कन गरेका छन् ।

प्रधानले ’कुसुमे रुमाल’, ’सम्झना’ लगायतका नेपाली चलचित्रहरू समेत छायाङ्कन गरेका छन् । निर्देशक प्रधानले यो म्युजिक भिडियोमा काम गर्दा नेपाली र हिन्दी सङ्गीतको फ्युजनको रूपमा निकै नयाँ र रोमाञ्चक अनुभव गरेको बताए ।

प्रतिक्रिया