बिहीबार, वैशाख ११, २०८२

पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छ : गृहमन्त्री लेखक

नेपालखोज २०८१ फागुन २० गते १५:०८

भैरहवा (रुपन्देही) । गृहमन्त्री रमेश लेखकले पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी रहेको बताएका छन् । रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै उनले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई पर्यटक र आमसेवाग्राहीसँग नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न आग्रह गरे ।

कर्मचारीको व्यवहारले नै मुलुकको अवस्था बताउने उल्लेख गर्दै गृहमन्त्री लेखकले सचेत भएर सौहाद्र्रपूर्ण तरिकाले सेवा दिन कर्मचारीलाई निर्देशन दिए । ‘अध्यागमन भनेको मुलुकको ऐना हो’, उनले भने, ‘कर्मचारीले सेवा दिँदा सभ्यता र विनम्रतापूर्वक ढङ्गले दिनुपर्छ । कहिलेकाहीँ पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन् तर यस्तोबला कर्मचारी विनम्रतापूर्वक प्रस्तुत हुनुपर्छ । सेवाको भावनाले काम गर्नुपर्छ ।

रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्ने छुट कर्मचारीलाई छैन । गृहमन्त्री लेखकले यहाँ निर्माण गरिएका पूर्वाधारले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रुपमा स्थापित गरेको बताए । मुलुकका सीमा क्षेत्रमा १३ अध्यागमन कार्यालय रहेका र ती कार्यालयले पर्यटकलाई नेपालमा घुमफिर गर्न सहज बनाएको उनको भनाइ थियो ।

पछिल्ला दिनमा सबै नाकाबाट पर्यटक आगमन राम्रो पाइएको छ । यो ठाउँ बुद्ध जन्मस्थल भएकाले धार्मिक पयर्टनको सम्भावना छ । सरकारले पर्यटनमैत्री वातावरण बनाइरहेको छ, पर्यटकको आगमनलाई व्यवस्थित गरिरहेका छौँ, गृहमन्त्री लेखकले भने, सरकारको लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउँछ । नेपालीहरु संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका नागरिक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा जस्तो व्यवहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताए ।

वर्तमान सरकारले समृद्धिलाई पछ्याइरहेको उनको भनाइ थियो । सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने तथा लगानी र व्यवसायीमैत्री वातावरण बनाउने काम गरिरहेको छ, गृहमन्त्री लेखकले भने, परिणाम तत्कालै नदेखिए पनि विस्तारै नतिजा आउँछ । सरकारले संविधानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा सङ्केतहरु देखापरेको गृहमन्त्री लेखकले बताए । “सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको छ ।

हामीले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न केही अध्यादेश जारी गरेका छौँ, ती अध्यादेशमा समेटिएका विषयवस्तुको सबैले प्रशंसा गर्दै छिटो कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिएका छन्, उनले भने । गृहमन्त्री लेखकले अध्यादेश केही समयमै पारित हुने र आर्थिक क्षेत्रमा थप सुधार आउने दाबी गरे । सोही कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले लुम्बिनीको प्रवेशद्वार भएकाले यहाँको विकासमा लागिपरेको बताए ।

प्रतिक्रिया