वनको दिगो व्यवस्थापनमा सरोकारवालाबीच समन्वय आवश्यक छ : उपराष्ट्रपति

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन संरक्षण, प्रवर्द्धन र दिगो व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरूबीच समन्वयको आवश्यकता रहेको बताएका छन् ।
यहाँ आज आयोजित नेपाल वन प्राविधिक सङ्घको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले वनसम्बन्धी नीतिगत सुधार, नवीन प्रविधिको प्रयोग र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखेर वन क्षेत्रको समृद्धि सुनिश्चित गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए ।
उहाँले ‘हरियो वन नेपालको धन’ भनेर चिनिएको नेपालको ठूला प्राकृतिक स्रोतको केन्द्र वन भएकाले यसमा सबैको समान पहुँच जरूरी रहेको उल्लेख गर्दै नेपालको कूल जमिनको ४६ प्रतिशत ढाकेको वन क्षेत्रलाई कायम राख्दै थप विस्तारमा टेवा पुग्ने योजनाका साथ अघि बढ्नु निर्विकल्प रहेको बताए ।
कार्यक्रममा उनले पछिल्लो समय तराई–मधेसमा पानीको सतह तल गएको र पानीको स्रोतहरू सुक्दै गएको अवस्थामा यसलाई रोक्न प्राविधिक सङ्घले गर्नसक्ने कार्यहरूको योजना र रणनीति तर्जुमामा सरकारलाई सुझाव र सल्लाह दिएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
वन, वनस्पति र वन्यजन्तु आवाजविहीन भएकाले आवाज बनेर यो सङ्घले स्वदेश तथा विदेशका सरोकारवालाबीच नेपाल अनुकूल धारणा अवलम्बन गर्दै जैविक विविधता संरक्षण, जलवायु परिवर्तनलगायतका मुद्दालाई अन्तर्राष्ट्रिय जगत्मा उठाउन सरकारलाई थप सहयोग गर्नुपर्ने उपराष्ट्रपतिको भनाइ छ । रासस
प्रतिक्रिया