सभामुखद्वारा सुखानी सहिदका तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा

काठमाडौं । सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाका तस्बिर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाएका छन् ।
झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र धरपकड गर्ने क्रममा जेलमा राखिएकामध्ये पाँच युवालाई सुखानी जङ्गलमा हत्या गरिएको थियो ।
झापाको चन्द्रगढीस्थित जेलबाट इलाम लैजाने बहानामा विसं २०२९ फागुन २१ गते साँझ सुखानी जङ्गलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई गोली हानी हत्या गरिएको थियो । उनीहरूको बलिदानीप्रति नेपालको कम्युनिष्ट आन्दोलनमा उच्च आदरसहित सम्मान गरिँदै आइएको छ ।
सङ्घीय सरकारले उनीहरूलाई विसं २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । यसअघि विसं २०४६ को जनआन्दोलन पछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक पीडित सहायता समितिले उनीहरूका परिवारलाई राहत उपलब्ध गराएको थियो । सुखानी सहिदको तस्बिर अङ्कित हुलाक टिकटको मूल्य १० रूपैयाँ तोकिएको छ ।
हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले नेपाली जनताको स्वतन्त्रता, समानता र हकअधिकारका लागि आवाज उठाउँदा सुखानीको जङ्गलमा हत्या गरिएकालाई राष्ट्रिय सहिद घोषणा गर्दै हुलाक टिकट प्रकाशनमा ल्याउनु महत्वपूर्ण कार्य भएको बताए ।
सभामुख घिमिरेले सहिदको बलिदानीको जगमा राजनीतिक उद्देश्यमा मुलुकले एउटा सफलता प्राप्त गरे पनि समाजलाई उपलब्ध गराइनुपर्ने सुविधा र शासन प्रणाली स्वस्थ ढङ्गबाट अघि जानुपर्नेमा अनेक चुनौती देखा परिरहेका बताए ।
प्रतिक्रिया