प्रतिनिधिसभा शून्य समय : विकासमा विभेद हुने गरेको सांसदहरुको गुनासो

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नेक्रममा सांसदहरुले शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने गरेको र विकासमा विभेद हुने गरेको गुनासो गरेका छन् ।
सांसद अनिसा नेपालीले राजनीतिक अस्थिरताका कारण विकास योजना प्रभावित बनेको धारणा राखे । विकासमा पनि दलीय विभेद हुनेगरेको उनको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँदा विकास योजना छनोट र रकम विनियोजनमा विभेद नगर्न उनले आग्रह गरिन् । त्यसैगरी सांसद अम्मरबहादुर थापाले मुलुकको हितमा भन्दा पनि कुनै व्यक्ति वा समूहलाई लाभ मिल्ने गरी बजेटमा योजना पारिने बताए । शिक्षा, स्वास्थ्य, कृषिलगायत उत्पादनका क्षेत्रमा बजेट केन्द्रित गरिनुपर्ने उनको भनाइ छ । वितरणमुखी बजेट रोक्न उनले आग्रह गरे ।
सांसद अम्बरबहादुर रायमाझीले चालु आर्थिक वर्षको बजेटमा परेका अधिकांश योजना अहिलेसम्म पनि कार्यान्वयनमा आउन नसकेको र निर्माणको काम अलपत्र परेको बताए । ठेक्का प्रक्रियामा भएको ढिलाइ र ठेकेदारले आयोजना अलपत्र पार्दा समस्या भएको उनको भनाइ छ ।
अर्का सांसद अर्जुन नरसिंह केसीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा बिचौलिया हावी भएको आरोप लगाए । उनले निजी क्षेत्रलाई नयाँ स्टकको लाईसेन्स दिनुअघि नेप्सेको पुनःसंरचना आवश्यक पर्ने बताए ।
सांसद अशोककुमार चौधरीले थारुहरुको हकका लागि भएका व्यवस्थाको कार्यान्वयन हुन नसकेको बताए । थारु समुदायको पहिचान र अधिकारको सुनिश्चितताका लागि उहाँले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराए ।
सांसद आश्माकुमारी चौधरीले दाङमा निर्माणाधीन सडक पुलमा भएको ढिलासुस्तीको विषयबारे संसद्मा कुरा उठाइन् ।
अर्का सांसद असिम शाहले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले कार्यसम्पादनमा शून्य अङ्क दिएर अपमान गरेको बताए । राम्रो गर्नेलाई सरकारले नियतवश र पूर्वाग्रही भएर दुःख दिइरहेको उनको आरोप छ ।
सांसद आशा विकले बाँकेमा औद्योगिक क्षेत्र घोषणा भएका स्थानकोे जग्गा विवाद चाँडो टुङ्गाउनुपर्ने बताए ।
सांसद ईश्वरबहादुर रिजालले पछिल्ला दिनमा संसद्मा अशिष्ट, संसदीय र अमर्यादित शब्द प्रयोग गर्ने क्रम बढेको बताए ।
सांसद ईश्वरी घर्तीले अध्यादेश पारित गर्दा सत्तापक्षसँगका सांसद माथि सांसद किनबेचको आरोप लागेको उल्लेख गदै त्यसलाई पुष्टि गर्न चुनौती दिइन् । अध्यादेश पारित गर्नका लागि सांसद किनबेच भएको र आर्थिक चलखेल भयो भनेर संसद्मै विषय उठेको बताउदै उनले यस्तो आरोपमा सत्यता नरहेको स्पष्ट पारिन् ।
सांसद ईश्वरीदेवी न्यौपानेले योगमाया न्यौपानेलाई राष्ट्रिय विभूति घोषणा गर्न माग राखिन् ।
अर्का सांसद उर्मिला माझीले मेलम्ची खानेपानी आयोजनाका पाइप पटक–पटक फुटेर त्यसले पारिरहेको असर बारे संसद्मा कुरा उठाइन् । कसको कमजोरीका कारण पटक–पटक पाइप फुटेको हो भनेर छानबिन गरिनुपर्ने उनको भनाइ छ ।
अर्का सांसद डा चन्दा कार्की भण्डारीले मेलम्ची खानेपानीको मुहान असुरक्षित र वितरण प्रणाली अस्तव्यस्त रहेको बताए । पाइपको गुणस्तर कमजोर रहेको हुनसक्ने बताउँदै गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गरिनुपर्ने धारणा उनले राखे ।
सांसद एकनाथ ढकालले संसद्को प्रभावकारितामा जोड दिए । निर्माणाधीन नयाँ संसद् भवनमा सबै सांसदलाई कार्यकक्षको व्यवस्था गरिनुपर्ने माग उनले राखे ।
सांसद कान्तिका सेजुवालले नेपालमा प्रयोग भइरहेको नुनमा आयोडिनको मात्रा बढी भएको विषय संसद्मा उठाइन् । सरकारी प्रयोगशालामा परीक्षण गर्दा अत्यधिक मात्रामा आयोडिन रहेको पुष्टि भएको र यसले स्वास्थ्य समस्या निम्ताउन सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया