बुधबार, वैशाख १०, २०८२

कार्यसम्पादनमा अब्बल बन्न निर्देशन

नेपालखोज २०८१ फागुन २२ गते १८:३३

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

प्रदेश सरकारअन्तर्गत खुला प्रतिस्पर्धाबाट अधिकृत सातौँमा नियुक्त भएका अधिकृतहरुलाई आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलले सेवा प्रवाहमा पक्षधरताभन्दा कार्यसम्पादनलाई प्रमुख ठानेर काम गर्न निर्देशन दिनुभएको हो ।

समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा गर्दै मुख्यमन्त्री कँडेलले अब सबै तहका कर्मचारीले समाजलाई सकारात्मक दृष्टिकोण बनाउनेगरी काम थाल्नुपर्नेमा जोड दिए ।

आफ्नो जिम्मेवारी बढेसँगै आडम्बर समाजलाई देखाउने नाममा गलत काम गरेर आर्थिक हैसियत बढाउने काममा नलाग्न मुख्यमन्त्री कँडेलले कर्मचारीलाई निर्देशन दिए ।

निजामती कर्मचारी समाजको पथपदर्शक पनि भएकाले सामाजिक रुपान्तरणमा कर्मचारीहरु महत्वपूर्ण योगदान दिनसक्ने मुख्यमन्त्री कँडेलले धारणा राखे ।

कर्मचारीले राम्रो काम गरेर देखाए त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने र नागरिकलाई थितिमा हिँड्न बाध्य पार्ने पनि मुख्यमन्त्री कँडेललको भनाइ थियो ।

सरकारका नीतिगत निर्णयमा राजनीतिक नेतृत्व जिम्मेवार भए पनि निर्णय कार्यान्वयन गर्ने प्रमुख दायित्व कर्मचारी संयन्त्रको भएकाले कर्मचारीको कार्यसम्पादनबाटै सरकारको उपलब्धि देखिने पनि मुख्यमन्त्री कँडेलको धारणा थियो ।

विकास र समृद्धि भनेको एकल यात्रा नभएर सामूहिक यात्रा भएकाले आ–आफ्नो ठाउँबाट सबैले योगदान दिनसके समृद्धि टाढा नरहेको पनि मुख्यमन्त्री कँडेलको भनाइ थियो । रासस

प्रतिक्रिया