‘सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजियो’

मध्यविन्दु । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सवको उद्घाटन गर्दै मन्त्री अधिकारीले सरकारका असल कामबाट आत्तिएर केही समूहले भ्रमको खेती गरेको आरोप लगाए ।
‘केही समूहले प्रमुख दुई दल मिलेर बनेको सरकारले सबै कुरा बिगारेको जस्तो गरी गलत प्रचार गरेका छन्’, उनले भने । मन्त्री अधिकारीले वर्तमान सरकारले जनताको हितमा काम गर्ने प्रतिबद्धतासहित गठबन्धन गरेकाले २०८४ सालसम्ममा आर्थिक समृद्धिको आधार तय हुने बताए । अहिले देखिएको आर्थिक मन्दी अन्त्यका लागि कृषि उत्पादन वृद्धि गर्दै बजारीकरणको जिम्मा सरकारले लिनेगरी योजना बनेको उनले बताए ।
कृषकले गरेको कामको व्यवस्थापनका लागि मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताए । कृषकले केही आम्दानी हुने आसमा गरेको खेती बाट नाफा नै हुन्छ भन्ने नरहेकाले घाटामा जाँदा सरकारले हेर्छ है भन्ने विश्वास दिलाउन लागिपरेको उनको भनाइ थियो । रासस
प्रतिक्रिया