बुधबार, वैशाख १०, २०८२

स्रोत साधनमा महिलाको पहुँच बढाउन जरूरी छ : मन्त्री सुडी

नेपालखोज २०८१ फागुन २४ गते ८:२०

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले महिलाको समान सहभागिता र नेतृत्वदायी भूमिकामा स्थापित गर्न समान अवसर, आर्थिक सशक्तीकरण, स्रोत साधनमा पहुँच बढाउनुपर्ने आवश्यकता औंल्याए ।

एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार हुन नसक्ने बताएका छन् ।

अधिकारप्राप्तिका आन्दोलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, प्रतिबद्धता, प्रगतिशील संविधान, महिला सशक्तीकरणका सघन कार्यक्रमको प्रतिफलस्वरूप नेपालले लैङ्गिक समानता कायम गर्न लैङ्गिक हिंसा न्यूनीकरण गर्न र महिलाको सहभागिता वृद्धि गर्नेतर्फ उल्लेखनीय प्रगति हासिल भएको उनको भनाइ छ ।

महिलाको हक मौलिक हकको रूपमा प्रदान गरेको छ । समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण सहभागिता बढाउँदै लगेको उनले उल्लेख गरेका छन् ।

अहिले सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव ५ र स्थानीय तहमा ४१ दशमलव १ प्रतिशत महिला जनप्रतिनिधि छन् । निजामती सेवामा अहिले करिब २८ प्रतिशत महिला कर्मचारी छन् ।

मन्त्री सुडीले महिला र पुरूषको सारभूत समानताका लागि नीतिगत, कानुनी र संस्थागत तथा कार्यक्रमगत व्यवस्था हुँदाहुँदै पनि समाजमा अवशेषका रूपमा रहेका पितृसत्तात्मक सोच, व्यवहार कायमै रहनु र महिलालाई विकासका सबै चरणमा सारभूत सहभागी गराउन नसक्नु चुनौतीपूर्ण रहेको बताउँएका छन् ।

प्रतिक्रिया