सोमबार, वैशाख ८, २०८२

रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु

नेपालखोज २०८१ फागुन २४ गते १४:५९

काठमाडौं । शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ । यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारबीच युद्धविरामको लागि हुने वार्ताको केही दिन अगाडि भएको हो ।

युक्रेनको डोनेट्स्क क्षेत्रको डोब्रोपिलियाको केन्द्रमा शुक्रबार राति भएको रुसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ ।

खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले शनिबार बिहान बोगोदुखिभ सहरमा भएको ड्रोन हमलामा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध र शुल्क लगाउने धम्की दिएका बेला रातभर हवाई आक्रमण भएको हो ।

साथै, पत्रकारलाई मन्तव्य दिएको केहि समय पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकोमा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिए ।

“रूसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको छ । म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रूसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु,” ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा उल्लेख गरे ।

ट्रम्पको धम्की यस्तो समयमा आएको हो, जब रुसले शुक्रबार युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

केही दिनअघि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदान प्रदानमा रोक लगाएको थियो ।

नेशनल इकोनोमिक काउन्सिलका निर्देशक केभिन ह्यासेटले ट्रम्पको धम्की कूटनीतिक रणनीतिको हिस्सा भएको बताए ।

प्रतिक्रिया