सोमबार, वैशाख ८, २०८२

इराकमाथिको प्रतिबन्ध नवीकरण नगर्ने अमेरिकी निर्णय ‘गैरकानुनी’: इरान

नेपालखोज २०८१ फागुन २६ गते १६:०३

तेहरान । इरानको विदेश मन्त्रालयले इराकलाई इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवा नवीकरण नगर्ने संयुक्त राज्य अमेरिकाको निर्णय ‘गैरकानुनी’ भएको बताएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले भने, यस्ता अभिव्यक्तिहरू अराजकता, मानवताविरुद्ध अपराधको स्वीकारोक्ति हो किनकि एकपक्षीय अमेरिकी प्रतिबन्धको इरानी राष्ट्रविरुद्ध कुनै औचित्य वा कानुनी आधार छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले आणविक हतियारको क्षमता खोजिरहेको आरोप लगाउँदै तेहरानमाथि ‘अधिकतम दबाब’ दिने नीतिको पछिल्लो निर्णय हो । तेहरानले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।

अमेरिकी विदेश मन्त्रालयले इरानलाई कुनै पनि प्रकारको आर्थिक वा वित्तीय राहत प्रदान गर्न नदिनका लागि छुटको नवीकरण नगर्ने निर्णय गरेको जनाएको छ । इरानले इराकको लागि एक तिहाइ ग्यास र बिजुली आपूर्ति गर्दछ र यसले तेहरानलाई पर्याप्त आय प्रदान गर्दछ । सन् २०१८ मा ट्रम्पले इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट अमेरिका पछि हटेपछि वासिङ्टनले तेहरानमाथि पुनः प्रतिबन्ध लगाएको थियो ।

ट्रम्पले हालै इरानसँग नयाँ आणविक सम्झौता गर्न आह्वान गरेका थिए र शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई नयाँ वार्ताका लागि दबाब दिन पत्र लेखेका थिए । यद्यपि, इरानले आफूलाई कुनै पत्र प्राप्त नभएको बताएको छ । पत्रमा उनले इरानले सम्झौता गर्न नमानेमा सैन्य कारबाही हुनसक्ने चेतावनीसमेत दिएका थिए । शनिबार खामेनीले ट्रम्पको धम्कीपछि ‘जिस्काउने’ रणनीतिको आलोचना गरेका थिए ।

उनले अमेरिकाको नाम उल्लेख नगरीकन तर अमेरिकालाई सङ्केत गर्दै भने, केही सरकारहरूले धम्क्याउने शब्दभन्दा अरू केही थाहा छैन । तिनीहरूलाई विदेशी व्यक्ति र नेताहरूका लागि उपयुक्त शब्दहरू केही थाहा छैन । उनले भने, उनीहरूको वार्ता समस्या समाधान गर्ने उद्देश्यले होइन, उनीहरूको उद्देश्य प्रभुत्व कायम गर्नु हो ।

प्रतिक्रिया