पोखरा महानगर क्षेत्रको फोहरपानी व्यवस्थापनसम्बन्धी गुरूयोजना तयार

गण्डकी । पोखरा महानगर क्षेत्रको फोहरपानी व्यवस्थापनसम्बन्धी गुरूयोजना तयार गरिएको छ । पोखरा महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इञ्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड र एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरूयोजना तयार गरेको हो ।
महानगरपालिकाका चारवटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहर पानी प्रशोधनमार्फत पुनः प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरूयोजनामा उल्लेख गरिएको छ ।
महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहरपानी प्रशोधन केन्द्रहरू स्थापना गरिनेछन् । यी केन्द्रमार्फत प्रतिदिन एक लाख ३४ हजार घनमिटर पानी प्रशोधन हुने महानगरपालिकाले जनाएको छ ।
गुरूयोजनाअनुसार पानी प्रशोधन क्षेत्रका लागि पाइपलाइन योजना विकास र सबै प्रणालीहरूमा छुट्टाछुट्टै ढलहरू प्रयोग हुने महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
त्यस्तै दुर्गम भूभागमा पानी सङ्कलनका लागि विभिन्न स्थानमा ‘पम्प स्टेसन’ र ‘म्यानहोल पम्प’ जडान गर्ने योजना रहेको उनले बताए ।
प्रमुख आचार्यले रू ११ अर्ब लागतको यो परियोजनाअनुसार फोहरपानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
जानेर वा नजानेर हाम्रा ढलहरू सीधै खोलामा मिसिने गरेको बताउँदै उहाँले यो योजनाअनुसार फोहर पानी प्रशोधन गरेर मात्र खोलामा मिसाइने जानकारी दिए ।
दिगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्दै महानगर प्रमुख आचार्यले यसको लक्ष्य भेट्नलाई पनि यो परियोजना पोखराका लागि महत्त्वपूर्ण हुने बताए । रासस
प्रतिक्रिया