बुधबार, वैशाख १०, २०८२

सेती लोकमार्गको काम चाडै सुरु नगरिए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने सांसद आलेको चेतावनी

नेपालखोज २०८१ चैत २ गते १४:१०

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले वन तथा वातावरण मन्त्रालयले बाहानाबाजी गरी भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको आरोप लगाएका छन् ।


आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद आलेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सेती लोकमार्गको निर्माणका लागि हरेक वर्ष बजेट विनियोजन हुँदाहुँदै पनि वन मन्त्रालयले कानूनी अड्चन देखाएर काम अवरुद्ध बनाएको बताए ।

सेती लोकमार्ग कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने ३२० किलोमिटर लामो सडक भएको र यस सडकले सुदूरपश्चिमका जनताका लागि विकासको कोशेढुङ्गा सावित हुने सांसद आलेको दाबी छ । डोटी खण्डको ४० किलोमिटर सडकका लागि २०७९ मंसिर १९ गते रु ६५ करोडको ठेक्का सम्झौता भए पनि दुई वर्ष बितिसक्दा समेत वन मन्त्रालयको अनुमति नआउँदा सडक निर्माण कार्य अघि बढ्न सकेको र ठेकेदारले स्काइभेटर मेसिनसहित तयारी अवस्थामा राखे पनि काम सुचारु हुन नसकेको सांसद आलेले बताए ।

गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले सेती लोकमार्गको डोटी खण्डमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने निर्णय गरेको थियो । सोही अनुसार वन डिभिजनले ८० हेक्टर वन क्षेत्र प्रयोग गर्न २,७८५ वटा रुख हटाउने संख्यासहित प्रक्रिया अघि बढाए पनि रु ४० करोड बजेट अभावका कारण कार्य रोकिएको बताइन्छ । त्यस्तै, गत मंसिर ६ गते वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले भौतिक मन्त्रालयको योजनाहरु सहज बनाउने निर्णय गरे पनि वन मन्त्रालयले सेती लोकमार्गको हकमा कार्यान्वयन नगरेको सांसद आलेले आरोप लगाए ।

सांसद आलेले वन मन्त्रालयले विकास विरोधी रवैया अपनाउँदै कानूनी बहानाबाजी गरेको बताए । नेपाली सेनाले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग र सडक विभागले तमोर करिडोरका लागि अनुमति पाए पनि सेती लोकमार्गलाई रोक्नु अन्यायपूर्ण भएको उनको भनाइ छ ।

प्रतिक्रिया