सोमबार, वैशाख ८, २०८२

यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता

नेपालखोज २०८१ चैत २ गते १४:२४

साना । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन् । गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताइएको छ ।

विद्रोहीको कब्जामा रहेको राजधानी सानामा एएफपीका एक फोटोग्राफरले तीनवटा विस्फोटको आवाज सुनेका पुष्टि गरेका छन् । हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल असबहीले जारी गरेको विज्ञप्तिमा विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाका साथै सादा, अल बेदा र राडाक्षेत्रमा भएको आक्रमणमा परी ३१ जनाको मृत्यु हुनुका साथै १०१ जना घाइते भएको उल्लेख गरिएको छ । ट्रम्पले सामाजिक सञ्जालमा ‘अत्यधिक घातक बल प्रयोग गर्ने’ प्रतिबद्धता व्यक्त गर्दै इरानलाई यमनी हुथीलाई दिइएको आफ्नो समर्थन तत्काल कटौती गर्न आदेश दिएका छन् ।

हुथी विद्रोहीले आक्रमणलाई ‘बिना कुनै प्रतिक्रिया नछोडिने’ चेतावनी दिएको छ् भने इरानी विदेशमन्त्री अब्बास अराघचीले मृत्युको निन्दा गर्दै वासिङ्टनलाई आफ्नो विदेश नीति निर्धारण गर्ने ‘कुनै अधिकार’ नभएको बताएका छन् । हुथी अन्सारोला वेबसाइटले ‘अमेरिका र बेलायती आक्रामकता’ र वासिङ्टनको ‘आपराधिक क्रूरता’ को निन्दा गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले लडाकूको तस्वीर र वमको विस्फोटका कारण भवन परिसर भत्किएको तस्बिर पोस्ट गर्दै ‘अमेरिकी हितको रक्षा गर्न, शत्रुहरूलाई रोक्न र नेभिगेसनको स्वतन्त्रता लाई पुनस्र्थापित गर्न’ ‘सटीक आक्रमण’ गरिएको बताएको छ। घटनाबारे बेलायती अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

विद्रोहीको राजनीतिक ब्युरोले आफ्नो अल–मसिराह टिभी स्टेसनमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, यमनका हाम्रा सशस्त्र बलहरू तनावको सामना गर्न पूर्ण रुपमा तयार छन् । एक दशकभन्दा बढी समयदेखि यमनको अधिकांश भूभागमा नियन्त्रण जमाएका विद्रोहीहरू इजरायल र संयुक्त राज्य अमेरिकाको कट्टर विरोधी इरान समर्थक समूहहरूको ‘प्रतिरोधको महत्त्वपूर्ण’ हिस्सा हुन् ।

उनीहरूले गाजा युद्धको समयमा रेड सी र एडेनको खाडीको बाटो हुँदै आवतजावत गर्ने जहाजहरूमा सयौं ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् र प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता प्रकट गरेका छन्। पेन्टागनका प्रवक्ता सिन पार्नेलले सन् २०२३ यता हुथी विद्रोहीले अमेरिकी युद्धपोतमा १७४ र व्यापारिक जहाजमा १४५ पटक आक्रमण गरेको बताए । यस अभियानले महत्त्वपूर्ण मार्गलाई अस्तव्यस्त बनाएको छ । यहाँबाट सामान्यतया विश्वव्यापी सामान ढुवानीको करिब १२ प्रतिशत हिस्सालाई ओहोरदोहोर गराइन्छ ।

प्रतिक्रिया