शुक्रबार, वैशाख ५, २०८२

‘राउटे समुदाय जलवायु परिवर्तनको जोखिम सामना गर्दैछन्’

नेपालखोज २०८१ चैत २ गते १४:५६

कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जलवायु परिवर्तनका कारण राउटे समुदायले विभिन्न जोखिमसँग सामाना गरिरहेको बताएका छन् ।

प्रदेश सरकारको समन्वयमा डिपिनेट नेपालद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘जलवायु परिवर्तनले राउटे समुदायमा परेको असर-प्रभाव’सम्बन्धी कार्यक्रममा उनले लोपोन्मुख राउटे समुदायलाई जलवायु परिवर्तनको असरबाट बचाउन सबै सरोकारवाला गम्भीर हुनुपर्ने बताए ।

पछिल्लो समयमा राउटेलाई देखाउने काम भए पनि उनीहरूको सीप, कला उपयोग हुन नसकिरहेको उनको भनाइ थियो । उनले भने, राउटे समुदायबाट निर्माण भएका कोशी, मधुसजस्ता सामग्रीको प्रदर्शनी र बजारीकरण गर्न आवश्यक छ, यो समुदायका विभिन्न सम्पदाको संरक्षण गर्दै पुस्तान्तरण गरिनुपर्छ ।

राउटेलाई चुरोट, सुर्ती तथा मादक पदार्थ सेवनजस्ता कुलतमा लाग्न नदिन सबैले गम्भीर बन्नुपर्ने धारणा राख्दै मन्त्री भण्डारीले उनीहरूको स्वास्थ्य र शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । उनका अनुसार उक्त समुदायको भाषा र उनीहरूले प्रयोग गर्ने लिपिहरूलाई अभिलेख गर्न आवश्यक रहेकाले प्रदेश सरकारले आगामी दिनमा योजनाबद्ध कार्य अगाडि बढाउने योजना बनाएको छ ।

प्रतिक्रिया