सोमबार, वैशाख ८, २०८२

सिरियामा लगाइएको प्रतिबन्ध हटाउन इयुलाई टर्कीको आग्रह

नेपालखोज २०८१ चैत ३ गते ९:१४

इस्तानबुल । ब्रसेल्समा आयोजना हुने अन्तर्राष्ट्रिय सहायता सम्मेलन अघि टर्कीले आइतबार युरोपेली सङ्घ (इयु)लाई सिरियामाथिको प्रतिबन्ध बिना कुनै शर्त हटाउन आह्वान गरेको छ । सम्मेलनमा युद्धग्रस्त देश सिरियाका नयाँ अधिकारीहरूलाई निमन्त्रणा गरिएको छ ।

टर्कीको विदेश मन्त्रालयले एक विज्ञप्तिमा राष्ट्रपति बशर अल–असदलाई अपदस्थ गरी डिसेम्बरमा सत्ता सम्हालेका सिरियाका नयाँ शासकहरूसँग गठबन्धन गरेर अङ्काराले देशमा ‘शान्तिपूर्ण सङ्क्रमण’ का लागि यस्तो कदम आवश्यक ठानेको बताएको छ ।

इयुले सोमबार सिरियाको समर्थनमा नवौँ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नेछ । पहिलो पटक सिरियाको सरकारका प्रतिनिधिहरू–नयाँ अन्तरिम अधिकारीहरूलाई–उपस्थित हुन आमन्त्रित गरिएको छ ।

यस कार्यक्रमको उद्देश्य १३ वर्षभन्दा बढी गृहयुद्धपछि सिरियाको सङ्क्रमण र पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउनु हो ।

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–सारालाई केही चुनौतीबाट राहत दिन इयुले फेब्रुअरी २४ मा नै सिरियाको ऊर्जा, यातायात र बैंकिङ क्षेत्रमा प्रतिबन्धहरू खुकुलो पारेको थियो ।

तर युरोप र अन्य शक्तिहरू डिसेम्बर ८ मा असदलाई अपदस्थ गर्ने अप्रत्याशित आक्रमणको नेतृत्व गर्ने साराको इस्लामवादी समूह हयात ताहरिर अल–शाम ९एचटिएस० ले सिरियालाई कुन दिशामा लिन सक्छ भन्ने कुरामा सावधान छन् ।

साराका अधिकारीहरूले देशलाई स्थिर बनाउन र समावेशी भविष्यको सुरुआत गर्न सक्ने आशा भए पनि असद सम्बन्धित अलावी अल्पसङ्ख्यकलाई लक्षित गरेको हालैको घातक हिंसाले शङ्का कायम राखेको छ ।

इयुका विदेशमन्त्रीहरूले सिरियाका नयाँ नेताहरूले अल्पसङ्ख्यकहरूको अधिकारको सम्मान गर्ने र लोकतन्त्रतर्फ अघि बढ्ने वाचा भङ्ग गरेमा उनीहरूले कम गरेका प्रतिबन्धहरू पुनः लागु गर्नसक्ने चेतावनी दिएका छन् ।

करिब ३० लाख सिरियाली शरणार्थीलाई आश्रय दिने टर्कीले पनि ‘फिर्तीलाई प्रोत्साहित गर्न’ सिरियाको पुनर्निर्माण गर्न आग्रह गरेको छ । टर्कीका उपविदेशमन्त्री नुह यिलमाजले ब्रसेल्स सम्मेलनमा भाग लिनेछन् । रासस/एएफपी

प्रतिक्रिया