उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग

काठमाडौं । सांसद प्रेम सुवालले सरकारले उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा दिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा उनले भने, उपभोक्ता ऐन बनेको छ वर्षपछि बल्ल उपभोक्ता अदालत स्थापना भएको छ, बिना बिल उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएकाले अनिवार्य बिल लिनेदिने विषयमा सरकारको पहल जरुरी छ, उपभोक्ताको मुद्दा सरकारले निःशुल्क लडिदिनुपर्छ ।
सांसद दुर्गा राईले पूर्वविशिष्टहरुलाई आजीवन सेवासुविधा उपलब्ध गराउने विषयमा असन्तुष्टि जनाइन्। उनले यौन व्यवसायबाट पर्यापर्यटन विकास गर्नुपर्ने भन्ने सांसदको सुझाव पनि उचित नभएको धारणा व्यक्त गरिन् ।
सांसद डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएका सर्वसाधरणहरु अझै पनि ठगिने गरेको हुँदा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सम्झौताअनुसारको सेवासुविधा दिलाउन श्रम मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, उनले भने ।
सांसद तारा लामा तामाङले लागुऔषध प्रयोगले युवाहरु कुलतमा फसेको भन्दै लागुऔषध नियन्त्रण तथा लागुऔषध अपराध नियन्त्रणका लागि ठोस नीति अपनाउनुपर्नेमा जोड दिइन् । सांसद दिलेन्द्रप्रसाद बडूले विपद्जन्य घटनाबाट क्षति भएको संरचनाको पुनःनिर्माण गर्न चाँडो गर्न माग गरिन् ।
सांसद देवेन्द्र पौडेलले बाढीका कारण भत्किएका सडक खण्ड समयमै निर्माण गर्नुपर्ने जोड दिए । सांसद डा धवलशम्शेर राणाले राजतन्त्रबारे अनावश्यक टिप्पणी गर्न जरुरी नभएको बताए ।
सांसद धु्रवबहादुर प्रधानले बाजुरामा ढुङ्गाले हानेर गाईको हत्या गरिएकामा विरोध जनाउँदै कारबाहीको माग गरेका छन् । सांसद निशा डाँगीले ‘डिजिटल’ कारोबार निःशुल्क गर्नुपर्नेमा जोड दिए ।
सांसद पुष्पबहादुर शाहले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन हुनुपर्ने र क्षतिपूर्ति समयमा नै पाउनुपर्ने बताए । सांसद प्रकाश ज्वालाले लोकसेवामा परीक्षामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्न लागिएको विषय गलत भएको बताए । उनले कुनै नागरिकलाई परीक्षामा सहभागी नै हुन नपाउने विषय संविधानको भावना विपरीत भएको बताए । सांसद प्रतीमा गौतमले प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवद्र्धनका लागि विधेयक ल्याउनुपर्नेमा जोड दिइन् ।
सांसद प्रतीक्षा तिवारीले संविधानमै नभएको व्यवस्था टेकेर राजा फर्काउन सकिन्छ भन्ने भ्रम नछर्न आग्रह गरिन् । सांसद प्रभु हजराले पर्सालाई औद्योगिक क्षेत्र घोषणा गर्न माग गरे । सांसद वासुदेव घिमिरेले समृद्धिको आधार पर्यापर्यटन भएको भन्दै पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्ने बताए ।
सांसद विन्दबासिनी कंसाकारले खानेपानीको सङ्कट गहिरिएको र गुणस्तरीय खानेपानी पाउन नसकिएको भन्दै पानीको गुणस्तर परीक्षण गर्न आवश्यक रहेको बताइन्। शून्य समयमा सांसदहरु विमला सुवेदी, पूर्णबहादुर घर्तिमगर, प्रेमबहादुर महर्जन, डा नारायण खड्का, नारायणी शर्मा र निर्मला काईरालाले विभिन्न समसामयिक विषयमा धारणा राखेका थिए ।
प्रतिक्रिया