बुधबार, वैशाख १०, २०८२

मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा

नेपालखोज २०८१ चैत ३ गते १४:०६

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन् ।

राससद्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ पुस्तक आज उनलाई हस्तान्तरणका क्रममा सभापति देउवाले सो कुरा बताएका हुन् । उनले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन्’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक भएको उल्लेख गरे ।

मुलुकमा भएका कामका बारेमा जनतामा जानकारी गराउनु जरुरी रहेको र त्यसका लागि राससले प्रकाशन गरेको यस प्रकारका पुस्तकको ठूलो महत्व हुने उनको भनाइ थियो । पुस्तक अवलोकनपछि उनले भने, यद्यपि अझै जनअपेक्षाअनुसारका धेरै काम गर्न बाँकी छ, यसमा सबै हातेमालो गरी अघि बढौँ ।

सभापति देउवाले सो अवसरमा राससका काम कारबाही बारेमा समेत चासो व्यक्त गर्दै पछिल्ला दिनमा राससले प्रभावकारी रुपमा काम गर्दै आएको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गरे ।

त्यस अवसरमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो किताबको विषयमा सभापति देउवालाई जानकारी गराएका थिए । सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष झा, महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतलप्रसाद महतो, वरिष्ठ समाचारदाता भीष्मराज ओझासहितको टोलीले सो पुस्तक हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया