बुधबार, वैशाख १०, २०८२

सरकारका गतिविधि जनतामुखी हुनुपर्छ : सांसद अर्याल

नेपालखोज २०८१ चैत ३ गते १५:३३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले सरकारका गतिविधि जनतामुखी हुनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद अर्यालले सरकारको गतिविधि जनतामुखी हुन नसक्दा पछिल्लो समयमा जनतामा निराशा छाएको भन्दै यसप्रति राज्य सचेत हुनुपर्ने बताए । विसं २०६२/६३ को आन्दोलनपछि सबैको अधिकार सम्बोधन गर्ने गरी समझदारीमा नै संविधान बनाए पनि प्रभावकारी कार्यन्वयनमा चुनौती रहेको उनको भनाइ थियो ।

सरकारमा जाने बेलामा वाचा गर्ने तर सत्तामा पुगेपछि हामी सबैले बिर्सने गरेका छाैँ। जे उद्देश्यका साथ अनआन्दोलन गरेका थियाैँ । ती उद्देश्य कार्यन्वयन हुन नसक्दा जनतामा निराशा उत्पन्न भएको छ, सांसद अर्याले भने, शान्ति प्रक्रियामा आएपछि ती वाचा पूरा गर्न संविधान बनायौँ । राज्यको मूलप्रवाहबाट कोही टाढा हुन नपरोस् भन्ने उद्देश्य थियो । सत्तामा जान लालायित हुने प्रवृत्ति बढ्दा जनता निराश छन् । उनले संविधान कार्यान्वयन भए या नभएको विषयमा अव मूल्याङ्कन गर्नुपर्ने र कहाँ चुकिरहेका छौँ भन्ने विषयमा ख्याल गर्नुपर्ने बेला आएको बताए ।

गणतन्त्र कार्यान्वयनबारे सचेत हुन सकेनौँ । हामीले जनताको विश्वास गुमाइरहेका छौँ, सांसद अर्यालले भने, तर राजतन्त्र विकल्प होइन ।

कुनै पनि उच्च पदस्थ अधिकारी नियुक्ति गर्दा पनि आफ्नो स्वार्थ अनुसारको काम हुने या नहुने हरिने गरेको उल्लेख गर्दै उनले अब क्षमता र कुशलताको आधारमा नियुक्ति हुनुपर्ने उनको धारणा थियो । सत्तामुखी बन्न छाडेर आम जनताले कसरी सुख पाउँछ भन्ने कुरामा ध्यान दिन उनले सरकारलाई सुझाव दिए । संविधानले दिएका हक अधिकारको अझै समीक्षा गर्नुपर्ने सांसद अर्यालको भनाइ थियो ।

प्रतिक्रिया