बुधबार, वैशाख १०, २०८२

स्ववियु निर्वाचन : नेतृत्व स्थापित गर्ने थलो

नेपालखोज २०८१ चैत ३ गते १६:२४

काठमाडौं । विद्यार्थीलाई नेतृत्व निर्माण गर्ने थलोको रुपमा चिनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभरिका अधिकांश क्याम्पसमा हुँदै छ । त्रिविले प्रत्येक दुई-दुई वर्षमा गर्ने स्ववियु निर्वाचन मङ्गलबार हुँदै छ । निर्वाचनका लागि विभिन्न राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन सहभागी हुँदैछन् ।

निर्वाचनका माध्यमबाट विद्यार्थीले वैचारिक नेतृत्व चयन गर्नेछन् । निर्वाचनमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिँदै छन् । स्ववियु निर्वाचनको तयारी पूरा भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार निर्वाचन मिश्रित प्रणाली भएकाले दुई मतपत्र रहने छन् ।

प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित रुपमा हुनसकेको थिएन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन त्यसपछि २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेकमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । त्यतिवेला नौ आङ्गिक क्याम्पसमा निर्वाचन हुनसकेको थिएन । यसपटक भने १३ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । ती क्याम्पसमा पनि त्रिविले चाँडै निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ ।

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले विद्यार्थी नेतृत्व निर्माण गर्ने थलोको रुपमा स्ववियु निर्वाचन रहेको बताए । उनले विचारको विमर्श गरी विद्यार्थीलाई लोकतान्त्रिक प्रक्रियामा प्रवेश गराउने माध्यम स्ववियु निर्वाचन भएको बताए । विद्यार्थीलाई राजनीतिमा लाग्न उत्प्ररेणा दिने माध्यम स्ववियु निर्वाचन हो, उनले भने, स्ववियु निर्वाचन मुलुकका लागि नेतृत्व स्थापित गर्दछ ।

स्ववियु शैक्षिक गुणस्तर कामय गर्न तथा सरकारको प्रतिपक्षका रुपमा काम गर्ने माध्यम बनेको उपाध्यक्ष घर्तीले बताए ।

नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले राजनीतिक नेतृत्वको नर्सरीको रुपमा स्ववियु निर्वाचन भएको बताए । स्ववियु निर्वाचन लोकतान्त्रिक प्रक्रियामा सहभागी भएर विद्यार्थीमाझ नेतृत्व स्थापित गर्ने माध्यम हो, उनले भने, विद्यार्थीलाई राजनीतिक रुपमा स्थापित गराउने काम स्ववियु निर्वाचनले गर्दछ ।

प्रतिक्रिया