मंगलबार, वैशाख ९, २०८२

‘गणतन्त्रको विकल्प गणतन्त्र मात्र’

नेपालखोज २०८१ चैत ३ गते १७:१४

काठमाडौं । सांसद बेदुराम भुसालले गणतन्त्रको विकल्प गणतन्त्र मात्र भएको बताएका छन् । उनले गणतन्त्रको विकल्प कुनै पनि हालतमा राजतन्त्र हुन नसक्ने उल्लेख गरे । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा सांसद भुसालले संविधानले निर्देश गरेको समाजवादी गणतन्त्र भएकाले त्यही दिशामा अगाडि बढ्ने योजनासहित जान सक्नुपर्ने बताए । उनले भने, समाजवादको दिशामा संविधानको लक्ष्यअनुसार जानुपर्छ ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पर्याप्त मात्रामा काम गर्न सकिएको छैन । प्रगति छ तर पर्याप्त छैन । सांसद भुसालले कृषि, उद्योग, पर्यटन र ऊर्जा तथा पूर्वाधारका क्षेत्रमा ठूला–ठूला मेगा प्रोजेक्ट सुरु गरेर रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले भने, विकास र रोजगारीका निम्ति अभियान सुरु गरौँ । संविधानमा कहाँ–कहाँ समस्या छ पुनरवलोकन गरौँ ।

विशेष समयमा सांसद मोहम्मद खालिदले सरकारको समावेशी सिद्धान्तको व्यवस्थामा थारु र मुस्लिम समुदाय अटाउन नसकेको बताए । उनले भने, राज्य सत्ता सञ्चालनमा थारु र मुस्लिमको उपस्थिति न्यून रहेको तथ्याङ्कले देखाएको छ । सांसद डा अन्जान शाक्यले नेपालको अर्थतन्त्र बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे ।

उनले भने, नेपालले अन्तर्राष्ट्रिय बजारमा परम्परागत वस्तुभन्दा उत्पादनको साङ्लो निर्माण गर्ने निकासी प्रवद्र्धन गर्नसक्ने वस्तुको उत्पादन तथा उत्पादकत्वमा जोड दिनुपर्दछ । उनले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै यी कुरालाई अध्यादेशले पनि सम्बोधन गर्न खोज्नु राम्रो भएको बताए ।

सांसद शाक्यले भने, कर्मचारीले तलबको साथै लाभांस प्राप्त गर्दा करको व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्टता आवश्यक छ । राज्यले तलबमा कर लिने व्यवस्था छ । तर शेयरबाट प्राप्त हुने आयमा कर कसरी लगाउने भन्ने विषयमा ऐन मौन छ । यस विषयमा तत्काल संशोधन गरी स्पष्टता दिन आवश्यक छ ।

प्रतिक्रिया