‘ग्लोबल मनी विक २०२५’ सुरु, गर्भनर अधिकारीले गरे उद्घाटन

काठमाडौं । थिङक बिफोर यु फलो, वाईज मनी टुमारो भन्ने नाराका साथ ’ग्लोबल मनी विक २०२५’ सोमबारदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौ संस्करण हो ।
उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गयो ।
उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न विद्यालयका कक्षा ७ देखि ५ सम्म अध्ययनरत करिब छ सय जना विद्यार्थीको सहभागिता थियो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरे ।
सो अवसरमा उनले वित्तीय साक्षरताको महत्त्वमाथि प्रकाश पार्दै आफ्नो आवश्यकताका आधारमा वित्तीय सेवाहरू छनोट गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘बैंक तथा वित्तीय संस्थाका आ–आफ्नै ’प्रडक्ट’ हुन्छन् । बचत र कर्जाका फरक–फरक सर्त र व्याजदर हुन्छन् । आफूलाई उपयुक्त हुने प्रडक्ट मात्र छनोट गर्नुपर्छ ।’ पछिल्लो समय डिजिटल वित्तीय कारोबारको विस्तारसँगै चुनौती समेत थपिएको उल्लेख गर्दै गभर्नर अधिकारीले डिजिटल माध्यमको प्रयोग गर्दा सतर्कता आह्वान गरे ।
कार्यक्रमको उद्घाटन सत्रमा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैंकका कार्यकारी निर्देशक, निर्देशक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी विभागका उच्च अधिकारी र बैंकरहरूको उपस्थिति थियो ।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो ।
सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, सहकारी विभागका निमित्त रजिष्ट्रार रघुनाथ महत र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आ– आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिए ।
उक्त अवसरमा उनीहरुले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिएका थिए । नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक हिमप्रसाद न्यौपानेले प्यानल छलफलको सहजीकरण गरे भने गभर्नरको कार्यालयका कायममुकायम कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेलले समापन मन्तव्य राखेका थिए ।
सो अवसरमा सहभागी विद्यार्थीहरुबीच वित्तीय साक्षरतासम्बन्धी हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरिएको थियो । चैत १० गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।
नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडबाट अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।
यस अभियानअन्तर्गत बैंकिङ÷वित्तीय पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् । जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रव्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिनेछन् ।
यसै गरी विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाका अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ उक्त अभियानबाट विद्यार्थीहरुमा वित्तीय साक्षरताको प्रवद्र्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षबारे सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ । ’ग्लोबल मनी विक’ मूलतः किशोर ÷ किशोरी तथा युवा ÷ युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।
अर्गनाईजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओईसिडी) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापीरूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ ।
यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओईसिडीले जनाएको छ । ग्लोबल मनी विकको स्थायी आई लर्न सेभ अर्न रहेको छ ।
प्रतिक्रिया